बूढानीलकण्ठ नगरलाई दोब्बर हरियाली बनाइने

बूढानीलकण्ठ नगरलाई दोब्बर हरियाली बनाइने


बूढानीलकण्ठ नगरपालिकाले बजारको हरियाली दोब्बर बनाउन वृक्षरोपणलाई विशेष प्राथमिकतामा राखेको छ ।

बूढानीलकण्ठको मूल सडकमा दुवैतिर वृक्षरोपण गरिएको छ । यसैगरी निजी क्षेत्र र स्थानीय क्लबसँगको सहकार्यमा गोल्फुटार, बूढानीलकण्ठ सडक खण्डको दायाँबायाँसमेत बिरुवा रोप्ने काम गरिएको बूढानीलकण्ठ नगरप्रमुख उद्धवप्रसाद खरेलका स्वकीय सचिव सुस्मित खरेलले जानकारी दिनुभयो ।

नगरपालिकाले वडा नं १ र २ मा महिला समूहको सक्रियतामा फोहर उत्पादन घटाउनका लागि परियोजना पनि सञ्चालन गरेको छ ।

यस्तै शिक्षासम्बन्धी सबै काम नगरपालिकाबाट गर्नका लागि अहिले शैक्षिक तथ्यांक संकलन भइरहेको छ । नगरपालिकाले १३ वटै वडामा वडा कार्यालय पनि स्थापना गरेको छ । यसअघि छ वटा वडामा मात्र कार्यालय थियो ।

सुस्मितका अनुसार संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई उपयोग गर्नका लागि विभिन्न विभिन्न योजना बनाइएको छ । यस्तै नगरपालिकाले गत वर्षभन्दा ३ प्रतिशत चालु खर्च कम गरेको छ । गत वर्ष २८ प्रतिशत रहेको चालुखर्च अहिले २५ मा झारिएको हो ।

यसैगरी वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले वडामा ढल निर्माण र बाटो मर्मतलाई प्राथमिकता दिइएको बताउनुभयो ।
नगरको नवजागरण टोलस्थित आकाशेधारादेखि धोबीखोलासम्मको बाटामा ढल तथा मंगाल मर्मत तथा सरसफाइ एवं ग्राभेलको काम सम्पन्न गरिएको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।

वडाकै सुन्दरटोल, बालुवाखानीमा ग्राभेल हाल्ने काम सम्पन्नसमेत भएको उहाँले बताउनुभयो । उहाँका अनुसार वडाको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा सहजता ल्याउनका लागि विभिन्न स्थानमा सिसी क्यामरा जडान गर्ने योजना ल्याइएको छ ।

यसैगरी स्वास्थ्य क्षेत्रमा नेपाल मेडिकल कलेजसंँगको सहकार्यमा वडाभित्र एक घर, एक डाक्टर अभियान सञ्चालन गरिने भएको छ ।