—शशी पौडेल
यही जुन महिनामा दलाइ लामा बेलायत आउँदै छन् । उनको उपस्थितिमा बी सी सी यूकेले अल्डरसटमा एक भब्य कार्यक्रम गर्न गइरहेको छ । सो कार्यक्रममा धेरैभन्दा धेरै नेपालीहरु उपस्थित भएर दलाइ लामाका ज्ञान बर्धक प्रवचन सुनेर ज्ञान हासिल गर्ने मौकाको फाइदा लिनु हाम्रो कर्तब्य हुने छ । किनभने मैले उनको प्रवचन २००७ सालको जुलाइमा जर्मनीमा सुनेको थिएं । त्यसपछि म बेलायत आएर बेलायतबाट प्रकाशित हुने एक साप्ताहिक नेपाली सन्देशका लागि लेखेको पनि थिएँ । दलाइ लामाबारे अरु बढी जानकारी हासिल गर्न र सो कार्यक्रममा भाग लिन अरु बढी प्रेरणा मिलोस् भन्ने उद्देश्यले २९ जनवरी २००८मा प्रकाशित उक्त लेख मैले यहाँ जस्ताको तस्तै दिएको छु ।
“सम्भवत आगामी दलाइ लामा एक नारी हुनेछिन् ?” दलाइ लामा अगाडि भन्दै गए, “यो सम्भव छ, क्वाइट पोशिवल, तर कृपया महिला दलाइ लामा एक सुन्दर महिला हुनुपर्छ । सुन्दर जसले सबैलाई आकर्षण गर्न सकुन् ।”
उक्त कुरा दलाइ लामाले गत जुलाइमा (२००७ सालको जुलाइ) जर्मनको ह्यमबर्गस्थित इलाइसी होटेलमा आयोजित एक पत्रकार सम्मेलनमा ठट्टा गर्दै भनेका हुन् ।
म संयोगवश दुई तीन दिनका लागि त्यहाँ पुगेको थिंए । एकजना मेरा पुराना मित्रले अहिले दलाइ लामा ह्यामबर्गमै भएको र उनको पत्रकार सम्मेलन पनि सोही दिन हुँदै गरेको बताए । आएको बेला मौकामा चौका किन नहान्ने त भनेर म पनि त्यहाँ पुगें ।
“शान्त ! शान्त !! शान्त !!! तपाइंहरु भाग्नु पर्दैन, डराउनु पर्दैन, यहाँ कुनै भयंकर जनावर प्रवेश गरिरहेको छैन र यहाँ कसैले आफ्नो सुन्दरता बेच्न र प्रदर्शन गर्न आइरहेको छैन । यो त दलाइ लामा मात्र हो, ।”
जब दलाइ लामा पत्रकार सम्मेलन हल भित्र प्रबेश गरे, त्यसरी उनले विशाल जनसमुदायलाई शान्त गराएका थिए । गौतम बुद्धको अवतार मानिने, महान ब्यक्तित्व, बुद्ध धर्मका गुरु दलाइ लामाले जर्मनीको ह्यामबर्गमा आतंक, मारकाट र युद्धबिरुद्ध सन्देश दिए । वर्तमान दलाइ लामा १४औं दलाइ लामा हुन् । यसअघि १३ वटा दलाइ लामाले यस संसारबाट बिदा लिइसकेका छन् । दलाइ लामा मानव सभ्यताका एक पूर्ण ब्यक्तित्व, कला, कौशल र बिद्धताले निपूर्ण ब्यक्तित्व मानिन्छ । भनिन्छ दलाइ लामासँग एक अनौठो क्षमता छ, उनले आफ्नो त्यो शक्तिद्वारा हरेक ब्यक्तिलाई शान्त र सभ्य बनाउन सक्छन् । उनले जत्रोसुकै संख्याको समूह भए पनि नियन्त्रणमा ल्याउन सक्छन् । उनको शक्ति साँच्चिकै प्रसंशनीय छ । उनले त्यसअघि ह्यामबर्गकै रोटेन बाउम नामक टेनिश मैदानमा दशौं हजार ब्यक्तिहरुलाई सम्बोधन गरेका थिए । उनले सम्बोधन गर्दा कुर्चीमा बसेर वा उभिएर हैन, चाकलमाडी बसेर सम्बोधन गरेका थिएरे । उक्त अवसरमा उनले आन्तरिक शान्तिका बारेमा प्रवचन गरे । उनको सम्बोधनबाट दशौं हजार जनसमुदाय मोहित भएका थिए । उक्त प्रवचनबारे टिप्पणी गदै एक ब्यक्तिले दलाइ लामासँग पश्न गरे “हामी भगवानप्रति विश्वास गर्दैनौं, धर्ममा विश्वास गर्दैनौ तर तपाइंको मीठो हाँसो र तपाइंको प्रवचनमा विश्वास गर्छौं ।”
दलाइ लामाको जवाफ यसप्रकार थियो “—तपाइंको कुरा मलाई सहस्र स्वीकार्य छ, यदि अझ बढी तपाइं बुझ्न चाहनुहुन्छ भने र तपाइं त्यस निम्ति आउनु भएको हो भने हर्नुहोस् म तपाइंलाई मेरो ठूलो भएको नाक देखाउँछु भन्दै आफ्नो अनुहार टीभीको क्यामरातिर तन्काए । टीभीले दलाइ लामाको अनुहार राम्रोसँग प्रसारण गर्न पाए ।
बिश्वलाई शान्तिको सन्देश दिँदै बुद्धधर्मको अग्रणीका रुपमा दलाइ लामा १३९१ देखि अवतरित छन् । दलाइ लामाका केही अभिब्यक्तिका कारण केही फुटकर प्रश्नहरु नउठेका हैनन् । जस्तै दलाइ लामाले धर्मभन्दा बढी राजनीति गरेको भन्ने त कहिले पौराणिक बाकीं बिद्याको प्रश्न अनि कहिले अघिल्लो जन्मको शान पाएको भन्ने प्रश्न । जे होस्, बुद्धधर्मको केन्द्रविन्दुको रुपमा उनका मूल्य र मान्यता सम्मानजनक छ र उनले उनको जन्ममार्फत संसारलाई मुस्कुराउन सिकाउने प्रयास गरिरहेका छन् । उनी स्वयम पनि मुस्कुराउन चाहिरहेका छन् ।
मानिसहरुलाई कहिलेकाँहि यस्ता प्रश्नहरुले सताइरहन्छ कि जसको उत्तर पाउन कठिन मात्र हैन असम्भव हुन्छ । जस्तै
हामी यस संसारमा कतिपटक जन्म्यौ ?
के हामी एक अर्कामा अघिल्लो जन्ममा परिचित थियौं ?
के हामी पूर्व जन्ममा असल वा खराब थियौं ? के हामी मानबको हैसियतमा एक प्रकारको भगवानको अवतार हौं ? आदि—इत्यादि ।
पत्रकार सम्मेलन भैरहेको बेला, दलाइ लामाको जवाफ सुनिरहेको बेला यस्तो लाग्थ्यो कि उपरोक्त प्रश्नहरुको उत्तर पाइरहेका छौं र आफ्नो बारेमा हामीलाइ पूर्ण ज्ञान छ ।
पत्रकार सम्मेला सकियो । दलाइ लामा त्यहांबाट हिँडे । म मनमनभित्रै सोंच्दै साथीको घरतिर लागें । मेरो सोचाइको बिकास यसरी हुदै थियो —सामूहिक आत्मसुद्धी अंगका रुपमा हरेक शहरलाई एउटा दलाइ लामाको खांचो छ तर उनी अर्को शहर अर्थात् अर्को मुलुक जानु पर्ने छ र हर मानव पनि । एक दिन हामी र उनी पनि सदा सदाका लागि बिदा भएर यस संसारबाट जाने छौ । तर दलाइ लामाको भने अर्को अवतारको जन्म हुने छ र अर्को दलाइ लामा चुनिने छन् । सायद यही कुरालाई उनले संकेत गरेका होलान्, “सम्भवत आगामी दलाइ लामा एक नारी हुनेछिन् ?”
कति अनौठो ! मुटु नै चुडेर लाने खालको बिपरीत लिङ्ग प्रभाव ? एक ब्यक्तित्व जसले एक सुन्दर महिलाको बारेमा कुरा गरिरहेको हुन्छ र असाध्यै चिन्तित पनि देखिन्छन् । सायद यसको निक्र्योल नभइसकेकाले होला, उनी आउँछिन् वा आउँदिनन्, यदि आईन् भने पनि उनले ती महिलालाई कहिल्यै देख्ने छैनन्, भन्ने पनि उनलाई थाहा छ । हुन सक्छ तपाइं हामी अर्को दलाइ लामालाई देख्न पाउने छौं । जसको आदर्शले शक्ति, जोस, जाँगर र उत्साह प्रदान गरेको छ, जसलाई फेरिफेरि भेट्ने मौका पाउने छौं ।
यतिखेर मैले यहाँ बुद्ध र कृष्णको प्रसँग जोड्न चाहान्छु, गौतम बुद्धले भनेका छन् —“बिश्वमा मानिसहरुमा जुन दरिद्रता अथवा कष्ट छन् अथवा दुष्ट मानिसहरु छन् त्यो ईश्वरको काम हैन । यदि बिश्वमा ईश्वरले यी कुराहरु मानिसलाई दिने भएको भए यी सबै अन्याय, अत्याचार, दुख, कष्ट र
दरिद्रताको जिम्मेवार ईश्वर नै हुने थियो र यस्तो इश्वरलाई असल भन्न मिल्दैन । कृष्णको पनि यस्तै मत देखिन्छ, गीताको अध्याय ५ श्लोक १४ र १५ मा कृष्ण भन्छन् —
“न कतृत्वं न कर्माणी लोकस्य सृजति प्रभूः
न कर्मफल संयोगं स्वभावस्तु प्रवर्तते ।।१४।।
ना दत्ते कस्यचित् पापं न चैव सुकृतं विभुः ।
अज्ञानेना वृतं ज्ञानं तेन मुह्यन्ति जन्तव ।।१५।।”
यसको अर्थ हो लोकमा कुनै काम वा कर्म भगवानले सृष्टी गरेको होइन । न यस्तो काम गरेर यसप्रकारको फल मिल्छ भनेर भगवानले भनेको हो । भगवानले न कसैलाई धर्म दिन्छ न त कसैलाई पाप नै दिन्छ , मानिसको ज्ञानलाइ अज्ञानले ढाकिदिँदा नै मानिसहरु धर्म र पाप ईश्वरले दिने हो भन्ने गर्दछन् ।
यसरी श्रीकृष्णले पनि धर्म र पाप को कुरा ईश्वरीय देन हो भन्ने कुरालाई नकार्दछन् ।
(लेखक स्वतन्त्र विचारक हुन् । उनलाई उनको आफ्नो ब्लग The-Global मा अझ ज्यादा विस्तृतरुपमा पढ्न सक्नुहुनेछ भने उनलाई यस [email protected] इमेलमार्फत सम्पर्क राख्न पनि सक्नुहुनेछ ।-प्रधानसम्पादक)
प्रतिक्रिया