हामी रेस्टुरेन्टमा खाना खाईसकेपछि केही फोटाहरु रेस्टुरेन्टभित्र नै खिच्यौ र बडी मसाज केन्द्रमा गयौ । त्यहि रेस्टुरेन्ट भएको बिल्डिङभित्रको फ्लाईओभर (भवनलाई जोड्ने पुल) भएर छेउको बिल्डिङमा पुग्यौ । नौ बजिसकेको थियो । हामी सबैका लागि खुट्टाको मसाज एकघण्टा र पुरा शरीरको मसाजका लागि दुईघण्टासम्मको मसाज समय मिलायौ । तर, साली कान्छी शान्ती र शासुका लागि ३ घण्टाको बडी मसाज गरि जम्मा चारघण्टा मसाजको समय बुकिङ गर्यौ । मैले जीवनमा यति ठुलो बडी मसाज केन्द्र कहिल्यै देखेको थिएन । मलाई कुनै अपातकालीन सैनिक शिविरको अस्पतालमा हजारौ मानिसहरु भर्ना गरेर उपचार गरे जस्तो अनुभूती भएको थियो । कोठा कोठामा भरिएका हजारौ विस्तराहरु र खुट्टा मसाजका लागि लहरका लहर अराम कुर्सीहरुमा खुट्टा पसारेर बसेका मानिसहरु देखे । एकैछिन रोमाञ्चित भएँ । जाने बित्तिकै पुरुषहरु र महिलाहरुकालागि छुट्टै स्नानगृह जहाँ स्टिम र साउनाको राम्रो व्यवस्था भएको कोठाहरु देखे । लकरको चाबी तथा एक एक गोटा घुँडासम्म आउने गाउनहरु हामीलाई त्यहाँका कर्मचारीले दिएका थिए । लकरभित्र समानहरु राखेर पहिले स्टिम लियौ । पन्द्रहमिनटपछि फेरि साउनामा २० मिनट जति बसेर हल्का स्नान गरेर हामी खुट्टा मालिश गर्ने ठाउँमा गयौ । यतिबेलासम्म सबै आठजनाको टोली आईसकेका थिए । पहिले एक घण्टाको खुट्टा मालिश अनि बडी (जिउ) मालिशको लागि छुट्टै कोठाहरुमा व्यवस्था मिलाएको थियो । धेरैदिनपछि चिनियाँ खुट्टा मालिश कर्मीबाट खुट्टा मालिशगर्दा शुरु शुरुमा हुरुक्कै दुख्नेगरि दबाउँदा खप्नेै नसक्ने दुखाई भयो । मूलनशालाई दबाउँदै, निचार्दै मालिशगर्दा पीँडामा जुवाई राजा (डाक्टर संगम) एैया भन्दै कराउन थाले । लहरै बसेका परिवारका सदस्याहरु सबै खितित् हाँस्न थाले, तर, मालिशको पीँडा सबैलाई भईरहेको थियो । मालिश गर्दा आनन्द लाग्छ भन्ने अनुभूती अहिले पीँडाको तापमा पेलिएको थियो । सबैले पीँडा खपेरै मालिश गर्न लगाएका थिए । वास्तवमा खुट्टाका मूल नशाहरुलाई अचेट्दा खुम्चेका सबै नशालाई तन्काउने हिसाबले मालिश गर्दा ठुलो पीँडाको अनुभूती हुँदोरहेछ । हामीले सोच्यौ यसरि मालिश गरेपछि शरीर हल्का हुन्छ । त्यसैले जति दुखेपनि खपेर मालिश गर्न दियौ । आधा घण्टाजतिको सहनै नसकिने मालिशको दुःखाई विस्तारै आनन्दमा परिवर्तन हुँदै गयो । मालिश घडिको सुई हेरेर सेकेण्ड सेकेण्डको रफ्तारमा गर्दैछ । ट्याक्कै एकघण्टा पछि मालिश गर्ने सिफू (गुरुजी)का हातहरु रोकिए । क्यान्टोनिज (चिनियाँ) भाषामा पेशागत काममा दक्ष हुनेहरुलाई सिफु अर्थात गुरुजी भन्छन् ।
एकघण्टाको खुट्टाको पैतालादेखि घुँडासम्मको मालिशले आफुलाई कताकता हल्का र पिँडा भएको अनुभूती भईरहेको थियो । विशेषगरि मलाई मालिशगर्ने सिफुले खुट्टाको दाबेऔला समातेर ठिक बीचभागमा बेस्सरी रगडेकोले भुँई टेक्दा मलाई अलि फरक अनुभूती भईरहेको थियो । खुट्टाको मालिश सिद्धिने बितिक्कै आ–आफ्नो खल्तीबाट सिफुहरुले काम गरेको रेकर्डका लागि बिलमा समय भर्दो रहेछ र प्रत्येकलाई हस्ताक्षर गराउँदो रहेछन । त्यसमा टिप्स दिन चाहनेले पछि भुग्तान गर्ने गरि टिप्सको पैसा लेखिदिँदा रहेछन् । हामीले पनि दश दश युएन लेखेर दियौ । अलि बढी दिनेलाई तोचे शाई अर्थात धन्यवाद भनेर विदा गरे, तर, कम लेख्नेलाई चाँहि केही नभनी हिँडे । मलाई लाग्यो आखिरमा टिप्स पाउने लालसा बोकेका यी अग्रिम पंक्तिका कामदारहरुका ब्यहोरा सबै ठाउँमा एकैनास हुँदा रहेछन् । यो सबै हङकङका धनाढ्यहरुले पारी चाईनाका कामदारहरुलाई टिप्स दिने अभ्यासले गर्दा भएकोहोला जस्तो मलाई लागिरहेको थियो । तर, टिप्स दिएर मालिश गर्दा पनि हङकङको भन्दा दुईगुणा सस्तो थियो । खुट्टाको मालिशपछि खानाको लागि छुट्टै एउटा डाइनिङ हलको व्यवस्था रहेछ । हामीले पहिले नै रेस्टुरेन्टमा खाना खाएकोले गर्दा केवल चिया, कफि र जुस पियौ । एउटा सिंगल विस्तरा देखि चारवटा सम्मका हिसाबमा विस्तरा राखेका जिउ मालिश गर्ने कोठाहरु रहेछन् । म, जुँवाई र साढुभाइको लागि तीनवटा विस्तरा भएको एउटा कोठामा मालिशको व्यवस्था गरेको रहेछ । हामी तीनजनाको मालिशका लागि तीनजना सिफुहरु आए । काम गरि गरि खप्पिस सिफुहरु नयाँ र पुरानो ग्राहकलाई त्यसै चिन्दारहेछन् । मैले चिनियाँ भाषामा विस्तारै मालिश गर्नुभनेको थिएँ । त्यस व्यक्तिले “हउला” अर्थात हुन्छ भनेर मालिश गर्न थाल्यो । किनभने पहिले नै एकघण्टा खुट्टाको मालिश गर्दा शुरुमा हुरुक्क बनाएको थियो । शरीर मालिश गर्दा झनै खुट्टाको भन्दा बढी पीँडाको अनुभूती भयो मलाई । शरीर मालिश गर्दा मालिशको आनन्दमा मस्त निँदाउँछु भन्ने सोच मालिशको पीडामा कता उडेर गयो कता । जराकमराक गर्दै शरीरको भित्री नशालाई छिचोल्दै गरेको मालिशले सायद रक्त प्रवाह र खुम्चेका नशाहरुलाई सहिठाउँमा पुर्याउने ध्येयले सिफूहरुले मालिश गरेका होलान जस्तो लाग्यो । सधैभरि मालिश गरिरहनेलाई सञ्च लाग्दो हो । यसरी जीवनमा चिनीयाँ सिफूसंग खुट्टाको मालिश बाहेक शरीरको मालिश गरेको कहिल्यै थिईनँ । यो मेरो लागि नयाँ अनुभव थियो । खुट्टाको मालिश भने हङकङको जोर्डनमा कहिलेकाँही गराएको थिएँ ।
मालिश गरेको अन्ततिर भने सहज र आनन्द लागिरहेको थियो । रातको एकबज्न लागेको थियो । हाम्रो दुईघण्टाको मालिश सकिएछ । सिफुहरुले बिल निकालेर साईन गर्न लगाए अनि बाई बाई गरेर त्यहाँबाट गए । हाम्रो लागि सुत्ने ब्यवस्था त्यहि मालिश गर्ने कोठामा मिलाएको थियो । तीनै जनालाई सिरानी र सिरेक ओढाई दिएर सिफुहरु बिदा भएका थिए । दरिएका हातहरुले मालिश खतम गरेलगत्तै म निंदाएछु । बिहान सात बजेतिर हामी उठ्यौ । बाथरुममा गएर दैनिक दिनचर्याबाट निवृत्त भयौ । फेरी एक पटक स्टिम (वाफ) र साउनामा केहीबेर बसेर स्नान गर्यौ । हामी सबै तयार भएर बाहिर निस्कँदा साढे आठ बजीसकेको थियो । आज २९ अगस्तको दिन, लण्डनकोलागि हाम्रो मध्यरातको फ्लाइट थियो । लोऊबाट हङकङ केवल एकघण्टाको यात्रा भएको हुनाले विस्तारै शपिङ गरेर जाने विचार गर्यौ । सबैभन्दा पहिले हामी नाश्ताको लागि हिजोकै रेस्टुरेन्टमा गयौ । चिनीयाँ ब्रेकफास्ट स्वास्थ्यको लागि राम्रो हुन्छ । चिनीयाँहरुले धेरे चिल्लो पिरो खाँदैनन् । बढीमा वाफबाट पकाउने परिकार, हल्का च्याउ च्याउँ र शुपहरु हुन्छन । हामीले नाश्ता लिईसकेपछि त्यही अध्यागमन छेउको मार्केटमा लेडिज ब्यागहरु किन्यौ र अन्य केही समानहरु किनेर केहीबेर घुमफिर गर्यौ । हामी दिनको ११ बजेतिर लोऊबाट हङकङ फक्र्यौ । रेलबाट हामी केहीबेरपछि जोर्डन एमटीआर स्टेशनमा आइपुगेका थियौ । आइतवारको दिन भएकोले गर्दा मानिसहरुको निकै चहल पहल थियो । सबैभन्दा पहिले घर आए लण्डन ल्याउने समानहरु मिलायौ । श्रीमतीले नेपालमा छोरालाई फोन गरिन् । छोरालाई फोन गरेर फेरी एकपटक बेलायतमा गगनलाई फोन् गरे । हाम्रो घरको एउटा कोठामा नेपालबाट पढ्न आएका गगन र उनका श्रीमती डेरा गरेर बसेका थिए । सबै कुशल मंगल र ठीकठाक भएको समाचार उनले भने । भोली बेलायत पुग्ने बित्तिके पर्सिबाट काममा जानु थियो । काममा व्यस्त रहने जीवनको अविरल सिलसिला अहिलेसम्म सिद्धिएको छैन । मनका चाहनाहरु कहिल्यै नटुङगिने र आफु कामैकामको सञ्जालबाट कहिल्यै मुक्त नहुने, के जिन्दगी यहि हो ? एउटा जिम्मेवारीबाट मुक्त हुने बित्तिकै अर्को जिम्मेवारीको सिलसिला शुरु हुन्छ । चाहनाको उर्लिएका भेलहरु जीवनको किनारहुँदै कति बगे केही सन्तोषका किनारहरु छुँदै कति त्यसै ईच्छाको सागरभित्र त्यसै हराउँदै गए ।
हङकङ आएको १४ दिन भैसकेको थियो । अब फेरि कहिले हङकङ फर्कने भन्नेबारे थाहछैन, तर, तीन वर्षभित्र यहाँको स्थायी वासिन्दाको अधिकारलाई कायम राख्न फेरि पर्कनु पर्छ । जीवनको ऊर्जाशील केही भाग बिताएको यो हङकङ शहर र यहाँको सेरोफेरो मलाई मनपर्छ । हङकङबाट मैले जीवनमा आर्थिक उपार्जन गर्ने र सामाजिक सेवामा आफुलाई अर्पण गर्ने अवसर प्राप्त गरेको थिएँ । मेरो ऊर्जाशील समयको केही पाटोले आर्थिक ऊँचाई लिएको ठाउँ । मीठा मीठा सम्झनाका छालहरु, डीप वाटर बे देखि जोर्डनको वाटरफ्रोन्ट सम्म र चेपलाकोक देखि चुनमुन बटरप्mलाई बीचसम्मका १२ वर्ष भन्दा बढी बिताएका दिनहरु कहाँ बिर्सन्छु म ? छोटकरीमा भन्नुपर्दा जीवन भोगाईको क्रममा हङकङ मेरोलागि सदा स्मरणीय रहने छ । हङकङ बसाइकै क्रममा मेरो एकजना काकाको छोरा यहाँ दिवंगत भएका थिए । काका ब्रिटीश आर्मीमा कार्यरत रहँदा उनका छोरा जन्मेका रहेछन । जीवनको दुःखद संयोग भनौ । छोरा यहाँ जन्मेर यहाँ नै दिवंगत भएको बेला उनले ….मलाई जीवनमा सबैथोक हङकङले दिएको थियो, छोरापनि दिएको थियो र छोरालाई हङकङले नै लियो …. भनेर आँशु पुछेका थिए । फेरि पनि उनले हङकङलाई माया मार्न सकेनन किनकि हङकङ उनको लागि कर्मभूमि थियो । धेरै नेपालीहरुका नियति यस्तै छ जन्मभूमी नेपाल भएतापनि कर्मभूमी अन्य देशलाई बनाउनु पर्ने ।
समानहरु मिलाएर हामी तयार भईसकेका थियौ, तर, हाम्रो फ्लाइटचाँहि मध्यरातको १२ बजेर ३५ मिनट जाँदा थियो । एयरपोर्टमा दुईघण्टा अघि जानुपर्ने भएकोलेगर्दा राती साढे दशबजेतिर हिडने विचार गर्यौ । हङकङ र बेलायतको समय झण्डै सातघण्टाको फरक छ । हामी २९ तारिखको दिनमा केही फेर नभई जहाज यात्रा गरे २९ तारिखकै दिनको २ बजे हिथ्रो एयरपोर्टमा अवतरण गर्ने समय थियो । हङकङका ईष्टमित्रहरुसंग त्यतिन्जेल फोनमा सम्पर्क गरेर कुरा गर्यौ । केही आफन्तहरु भेट्न आएका थिए । शनैः शनैः समय बितिरहेको थियो । हामीलाई हाम्रो कर्मभूमि, बेलायतले बोलाइरहेझै अभास भइरहेको थियो । सायद बेलायत नै अन्तिम गन्तव्य होला जस्तो अनुभूति भईरहेको छ । तर, भविष्यको गर्भभित्र केके छन के ? कसैलाई थाह हुँदैन किनभने जीवनको मोड कहिले कता फर्किन्छ कसैले भन्न सक्दैनन् । छोरीजुँवाई घरमा आईपुगे । उनीहरु हामीलाई एयरपोर्टसम्म छोड्न जाँदैछन । श्रीमतीले… तिमीहरु भोली काममा जानुपर्छ, हामी गइहाल्छौ.. छोड्न जानुपर्दैन … भन्दैथिइृन, तर, उनिहरु मानेनन् ।
हामी सबैले बेलुकीको खाना खाईसकेपछि केहीबेर विश्राम गरेर एयरपोर्टका लागि प्रस्थान गर्यौ । प्रस्थान गर्नुअघि हाम्रो संस्कार अनुसार शुभसाईतमा घरको जेठाबडाले खादा ओढाएर अशिर्वाद दिदै शुभयात्राको मंगलकामना गर्छ्न । हामीलाईपनि शासुले त्यहि परम्पराअनुसार खादा ओढाउदै अशिर्वाद दिईन् । शासु पनि केहीदिनभित्रै नेपाल फर्कदैथिईन् । उनी हाम्रो लागि मात्र केहीदिन बढी हङकङमा बसेकी थिइृन् । जोर्डनरोडबाट हामी डबलडेकर बस नम्बर ए२३ पक्रेर एयरपोर्टतिर लाग्यौ । हामीलाई एअरपोर्टसम्म पुर्याउन साली शान्ती, छोरीहरु समिक्षा, सईक्षा र जुँवाइ आएका थिए । जीवन समग्रमा भेट्ने छुट्ने यात्रा हो । हामी एउटै ठाउँमा बसेर कहिल्यै जीवनको प्रत्येक पाटालाई बुझ्न सक्दैनौ । विश्वलाई नजिकबाट बुझ्न अध्ययनमात्र नभई देशविदेशको भ्रमण गर्नुपर्दोरहेछ भन्ने अनुभूती मलाई हुन्छ । बेलायतमा अहिले शरदऋतुको पदार्पण भएको छ । हङकङ बसाईमा गर्मीको केहीदिन अनुभूती खपे । यतिबेला एयरपोर्टभित्र पसेपछि फेरि लण्डनको शितलतालाई महशुस गरिरहेको थिएँ । श्रीमती भन्दै थिईन् … ए बुरो लण्डनमा जाडोहुन्छ हाम्रो ज्याकेटहरु बाहिर राख्नुपर्छ… । ज्याकेटहरु शुटकेसबाट निकालेर आ–आफ्नो हातमा राख्यौ । हामीले एमिरेट्स जहाजको बोर्डिङ पास लिइसकेपछि केही फोटाहरु खिच्यौ । जुँवाईछोरीलाई अबेर हुने विचारले हामी अध्यागमनतर्फ जाने विचार गर्यौ । श्रीमतीको गहभरी बिछोडको आँशु देखेँ । छोरीलाई समातेर अँगालोभरि बाँधेर म्वाई खान थालिन । अनि त सबैको आँखामा आँशुका सुन्दर दानाहरु टिलबिलाउन थाले । छोरीजुँवाई, सईक्षा छोरी र साली शान्तीलाई तिमीहरु सदा खुशी रहनु भन्ने अशिर्वाद दिएँ । तिनिहरुले हामीलाई ढोगगरि बिदाई गरे । अध्यागमनको ढोकाबाट छिरेर पहिलो काउन्टरबाट देखुन्जेल चारजनाका आठवटा आँखाहरुले हामीलाई हेरिरहेका थिए । हामी एमिरेट्सको बोईङ जहाजबाट निर्धारित समयमा उडेर आयौ । हङकङका डाँडाहरु, वरिपरिका समुन्द्र र झिलिमिल बत्तिको प्रकाशमा चुलिएका अग्ला भवनहरु एकैछिनमा आँखाबाट ओझेल भयो । केहीघण्टाभित्र मरुस्थल क्षेत्रमा झल्किएको दुबई शहरमा हाम्रो आधुनिक विशाल पुष्पक विमानले अवतरण गर्यो । केही घण्टाको ट्रान्जिटपछि हामी अर्को जहाज चढेर लण्डनको हिथ्रो विमानस्थलमा ठिक दिनको दुईबजे, २९ अगस्तको दिनमा उत्र्यौ । तीनवर्षपछि हङकङको सेरोफेरोका मिठो सम्झनाहरुका बरातसंगै हामी लण्डनको चालर््टन स्थित घरमा १४ दिनपछि पाँचबजे आईपुगेका थियौ । यसरि फेरि एकपटक हङकङको सेरोफेरो घुमेर विगत १२ वर्ष बिताएका ठाउँहरुमा पुगेर सम्झना ताजा बनाएको थिएँ । धन्यवाद ….समाप्त ।
प्रतिक्रिया