निर्वाचनको तयारी तीब्र, १४ लाख मतदाता थपिए

निर्वाचनको तयारी तीब्र, १४ लाख मतदाता थपिए


आसन्न प्रतिनिधि र प्रदेशसभामा झण्डै १४ लाख मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनलाई प्राथमिकतासाथ अघि बढाएपछि प्रतिनिधिसभा निर्वाचन घोषणासम्मको ६ महिनाको अवधिमा १३ लाख ७० हजार २४९ मतादाता थप भएका हुन् ।

थपिएका नयाँ मतदाताले स्थानीय तहको मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनको जोडघटाउलाई फरक पार्न सक्ने आकलन गरिएको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनमा कुल एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता थिए ।
लामो समयसम्म निर्वाचन नहुँदा र हुन्छ/हुन्न भन्ने दुविधा कायम रहँदा मताधिकार योग्य धेरै नागरिकको नामावलीमा नाम नै थिएन । स्थानीय तह निर्वाचनपछि निर्वाचन आयोगले पुनः नामावली संकलन गरेको थियो ।

थपिएका मतदाता संख्या अनुसार अब आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ५४ लाख २४ हजार ७३१ मतदाता हुनेछन् ।

सबैभन्दा बढी मतदाता मोरङमा थपिएका छन् । मोरङमा ८० हजार ९१५ हजार मतदाता थपिए । यस्तै, झापामा ७५ हजार १२ मतदाता थप भएका छन् । सुनसरीमा ५३ हजार १४१, दाङमा ४७ हजार ७६४ मतदाता थप भएका छन् ।

यस्तै, काठमाडौँमा ४४ हजार २२०, काभ्रेमा ४१ हजार ४३८ मतदाता थपिएका छन् । यसअघि सबैभन्दा कम पाँच हजार ८८० मतदाता रहेको मनाङमा ७८५ मतदाता थपिएका छन् । रसुवामा चार हजार ५६६ मतदाता थपिएको निर्वाचन आयोगको अद्यावधिक विवरणमा उल्लेख छ ।

यसरी मतदाता बढ्नु उत्साहजक रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनलाई भयरहित समयमै गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।