लण्डन । भारतको महाराष्ट्र राज्यमा यस वर्ष अवैध शिकारीहरुले आठवटा बाघहरु मारेका कारण राज्य सरकारले ती अवैध शिकारीहरुलाई फरेष्ट गार्डद्वारा गोली हानेर हत्या गरेमा कानूनी अपराध ठहर नहुने आदेश जारी गरेको छ । पश्चिमी भारतीय राज्य महाराष्ट्रमा शिकारीहरुले बाघको हत्या तथा अन्य दुर्लभ बन्य जन्तुहरुलाई हत्या गरेर अवैध तस्करमा बृद्धि भएको अवस्थालाई मध्य नजर गरी तिनीहरुसँग जुझेर यस्ता अवैध कार्यलाई नियन्त्रण गर्नको लागि यो नयाँ कानूनी आदेश जारी गरेको कुरा प्रकाशमा आएको छ । अब उप्रान्त राज्य सरकारले शंकास्पद अवैध शिकारीहरुलाई गोली हानेर घाइते अथवा मारे पनि यसलाई आपराध ठहर नगर्ने घोषणा गरेको छ ।
मंगलवारको दिनमा महाराष्ट्र राज्यको बनमन्त्री पताङ राव कदमले … बन विभागका सुरक्षा गार्डहरुले अवैध शिकारीहरु विरुद्ध कारवाही गर्दा यसलाई मानव अधिकार हनन् भएको संज्ञा दिन मिल्दैन … भनेका छन् । अब राज्यले जंगलमा बन्यजन्तु संरक्षणका लागि र अवैध शिकारीहरुसँग लड्न बढीभन्दा बढी रेन्जरहरु र जिपहरु बढाएर पठाउने कुरा गरेका छन् साथै अवैध शिकारीहरुको सुराकी दिने व्यक्तिहरुलाई पैसा दिएर गोप्य तरिकाले पुरस्कृत गर्ने बताएका छन् ।
सन् १९७० सालदेखि बन्यजन्तु संरक्षणका लागि स्थापित गरिएका भारतका जंगलहरुमा विश्व भरिका ३२०० बाघहरुमध्ये आधा भाग भारतमा छन् । तर, अवैध तरिकाले यी बाघहरु मारेर चिनियाँ पारम्पारिक दवाइ बनाइने हुँदा यसको माग कालोबजारमा उच्च मूल्य दिने गरिन्छ । यसले गर्दा यी बन्यजन्तुहरुका संरक्षणमा खतरा उत्पन्न हुँदै गएको छ । सम्बन्धित श्रोतबाट भारतभरिमा यस वर्ष १४ वटा बाघ मारेको तथ्याङ्क निकालेको छ । त्यस्तै सन् २०११मा १३ वटा बाघ मारिएको थियो । सन् १९९० सालदेखि संसारभरिका पाँचदेखि सात हजारसम्मको संख्यामा रहेका बाघहरु तीब्र रुपमा घट्दै गइरहेको तथ्याङ्क प्राप्त भएको छ । विगत २५ वर्षभित्र झण्डै पचास प्रतिशत बाघहरु मासेर गएको छ । बाघ बन्यजन्तुहरुमा दुर्लभ जानवारको रुपमा मानिन्छ । महाराष्ट्रका बनहरुमा मात्र यस साल आठवटा बाघहरु मारिएका छन् । त्यसमध्येका पछिल्लो पटक मारिएको आठौ बाघ गत मंगलवार गार्डहरुले टाउको र पञ्जाहरु काटिएको अवस्थामा भेट्टाएका थिए । महाराष्ट्रको यस जंगलमा ४० वटा बाघहरु छन् । श्रोत – गार्जियन, सुमल, मेस ।
प्रतिक्रिया