समय !
गरिबीको भावनासँग
समर्पित माया गांसेर
बारम्बार र बारम्बार
बलात्कार गर्यौ-
बीच सडकमा तिमीले
सोझा, निमुखा र निर्धाहरुको।
ति निर्मम रातहरु उज्यालै छन्
ति निर्दोष हत्या आत्महत्याहरु आलै छन्
काहालीलाग्दो आँखामा-
जावान छोराहरुको घांटीमा
इराक रेटिनुभन्दा विभत्स
शरीर काटिए मारिए
कति डाँडापारिका घामजूनहरु
दिदीबहिनी र नाबालकहरु
क्षत् विक्षत् लाश भए
कति जले
निमेषभर,
घर, गाँउ-बस्ति र मान्छेका सदरमुकामहरु।
साँच्चै
त्यो भोगाइ र दु:खाइमा
हिरोशिमा र नागाशाकीभन्दा कहाँ कम छ र !
समय !
भो अब त
नआऊ-
मान्छेको बिचारमा देश खोस्नलाई
गोलाबारुद, बम-विस्फोट भएर।
बाँच्न देऊ-विधवीको भोको जिन्दगी।
हुर्कन देऊ-
खोलेफाँडोले
आधापेट अघाएर
सुक्सुकाउँदै निद्रा खोजिरहेका
त्रसित लालाबालाहरुलाई।
मर्न देऊ-
उमेरभरको सहज मृत्यु
चाउरी अनुहारहरुलाई।
समय !
भो कहिल्यै नआऊ
यताकतै पनि
कुनै वाद प्रतिवाद बोकेर
नगर-
बहुला अतिक्रमण
मान्छेको गतिशील क्रमिकतामा।
नमाग-
कुनै संकल्पमा
वलिदान र सहादतहरु।
अब हामी युगान्तरको
पछौटे विमार मारेर
हातेमालो गाँस्न चाहन्छौं।
हामी शान्तिदूत भएर
तिम्रो गतिमा दौडन चाहन्छौं।
समय ! तिमी साधुवाद !!
समय ! तिमी जिन्दावाद !!
प्रतिक्रिया