मनपरी भाडाअसुली रोक्न ठड्याइयो सार्वजनिक बोर्ड

मनपरी भाडाअसुली रोक्न ठड्याइयो सार्वजनिक बोर्ड


यातायात व्यवसायीले मनपरी भाडा असुलेर यात्रु ठग्ने उपक्रम बढेपछि पर्सा ट्राफिक प्रहरीले विशेष कदम चालेको छ । ट्राफिक प्रहरीको सक्रियतामा पर्सा प्रहरी कार्यालयले बीरगञ्जको बसपार्कमा सार्वजनिक बस–भाडा दर तोकेर बोर्ड टाँगिदिएको छ । यसपछि सार्वजनिक यातायात भाडामा हुँदै आएको ठगी कार्य रोकिने र यात्रुलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

नागरिक सचेतनाका लागि पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको प्रमुख आतिथ्यतामा हिजो मंगलबार आयोजित उक्त बोर्ड झुण्ड्याउने कार्यक्रममा पर्सा प्रहरी प्रमुख एस्पी गणेश रेग्मीलगायत प्रहरी अधिकारीहरूको उपस्थिति थियो । सार्वजनिक बोर्डमा उल्लेख गरिएको भन्दा बढी भाडा असुलेमा त्यसरी ठगी गर्ने सवारी व्यवसायीलाई नियन्त्रणमा लिई कारवाही गरिने जानकारी दिइयो । यस कार्यमा प्रहरीलाई सहयोग गर्न सर्वसाधारण यात्रुवर्गमा प्रहरीले आग्रह समेत गरेको छ । सो अवसरमा नारायणी यातायात ब्यावसायी संघ, तराई यातायात ब्यावसायी संघ, टाटा सुमो संघलगायतको सभागितामा थियो ।

यसैगरी, वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन हस्ताक्षर अभियान सुरु गरिएको छ । वीरगञ्जस्थित घण्टाघरबाट सुरु गरिएको हस्ताक्षर अभियानका अभियन्ताहरुले वीरगंजमा आवश्यक सबै पुर्वाधार रहेको र बढी राजश्व संकलन हुने एक मात्र महानगरपालिका भएकोले यो अभियान सञ्चालन गरिएको बताए । विहान ७ देखि साँझ ६ बजेसम्म खुल्ला रहने हस्ताक्षर अभियान तीन दिनसम्म जारी रहने प्रदेश सभा सदस्यका उम्मेदवार एवम् अभियानकर्ता शम्भु गुप्ताले बताए ।