-शशी पौडेल
आगामी बुधबार इजिप्टमा निर्वाचन हुन गइरहेको छ । निर्वाचनका निम्ति मुस्लिम ब्रदरहुडका साथै पूर्ब परराष्ट्र मन्त्री अमर मुसालगायत ११ जना उम्मेदवार चुनाबी मैदानमा उत्रेका छन् । यी ११ उम्मेदवारमध्य कुनै पनि बिगत आन्दोलनमा सकृय थिएनन् बरु भागेका थिए । मुस्लिम ब्रदरहूड एक मुस्लिमहरुको उग्र सँगठन हो भने अमर मुसा हुस्नी मुवारकका परराष्ट्र मन्त्री । यी दुईबीच मूख्य प्रतिस्पर्धा रहेको छ । २०१० र २०११ मध्यपूर्वका लागि लोकतान्त्रिक आन्दोलनको वर्ष भनेर चिनियो । त्यतिखेर अर्थात् आन्दोलन सुस्ताउन लाग्दा जनवरी २०११मा मैले मध्यपूर्बमा भइरहेको लोकतान्त्रिक आन्दोलनको समीक्षा गरेको थिंए ।
लेनिन भन्छन् “ आन्दोलनकारीहरुले दुई कुराका निम्ति आन्दोलन गर्दछन् —पहिलो कुरा हो पुरानै शासन व्यवस्था रहेसम्म जनता शासन सत्तामा पुग्न सक्तैनन् । अनि, दोस्रो —शासकहरुले पुरानै व्यवस्थाबाट अब शासन गरिरहन सक्दैनन् ।”
उक्त कुरा चार फेव्रुवरी २०११ को गार्डियनको सम्पादकीयमा उल्लेख छ ।
जब पूँजीवादी शक्तिबाट संचालित संसार साधनले कुनै आन्दोलन वा जनसंघर्षका वारेमा लेख्नु प¥यो भने एकै प्रकारको निष्कर्ष निकाल्दछन् । अनि त्यो सधैं एक प्रकारको हालतको रुपमा प्रस्तुत हुने गर्दछ ।
अहिले गार्डियन र यसअघि वा अन्य बेलायती संचार साधनले हामीलाई इजिप्टमा अहिले जुन परिवर्तन आएको छ त्यो निकै पहिले हुनु पथ्र्यो भन्दै आइरहेका छन् । तर यदि इतिहासलाई हेर्दै जाने हो भने रुसमा स्तालिनको पतनपछि योजनाबद्ध रुपमा सोभियत संघ र यूरोपको आर्थिक कारोबार शुरु हुनुलाई “एउटा इतिहासको अन्त” भनी प्रचारवाजी गरियो । यसलाई सकारात्मक रुपमा लिएर “एउटा इतिहास को शुरुवात” भन्न पुँजीवादीहरुले सकेनन् । तर त्यो इतिहासको अन्त थिएन बरु इतिहासको शुरुवात थियो किन भने मध्यपूर्वकै कुरा गर्ने हो भने, त्यसपछि झन् दर्जनौ शासकहरुले दशकौंसम्म तानाशाही व्यवस्था कब्जामा लिएर बसे ।
सर्वप्रथम तुनेसिया र अहिले इजिप्टमा जनताको भेल उठेर दशकौंसम्म अर्थतन्त्र, राजनीति र समाज समेतलाई कब्जा गरेर बसेको बलियो खम्बा ढाल्न आन्दोलित भए । यतिखेर अक्टोवर क्रान्तिताका लेओन ट्राट्स्कीले विश्लेषण गरेको “दमिनो थेउरी“को उपमा लिँदा अत्यूक्ति हुने छैन । किनकि तुनेसियाका राष्ट्रपति सर्वप्रथम भाग्न वाध्य भए त्यसपछि यमनका राष्ट्रपति सत्ताच्यूत भने त्यसपछि इजिप्ट । यसरी एकपछि अर्को गर्दै तानाशाहरुको बाहिर निस्कने ढोका खुल्न थालेको छ । मध्यपूर्वका जनताले त्यहाँको विद्यमान अवस्था अब सहन गर्न सक्तैनन् । त्यसैले इजिप्टमा भएको आन्दोलनको मुख्यनारा इन—अफ इज इन—अफ भन्ने रहेको थियो । यही नाराले नै उनीहरुले इजिप्टका हुस्नी मुवारकलाई घुंडा टेकाउन सफल भए ।
इजिप्टका हुस्नी मुवारकले खासगरी त्यहाँका मध्यम वर्गीय जनताबाट आफ्नो स्वार्थअनुकुल राजनैतिक आर्थिक एंव सामाजिक फाइदा उठाउँदै आएका थिए । तर जब मध्यम वर्गीय जनताले मुवारकको साथ दिन छोडे तब उनी सत्ता छोड्न वाध्य भएका हुन् ।
एक वामपन्थी पत्रकार सेमुस मिलण्यले यसभन्दा अघि सोही पत्रिकामा लेखेका थिए । उनकै शब्दमा “इजिप्टमा आन्दोलित अवस्था छ तर अहिले संघर्ष वा क्रान्ति भइसकेको छैन ।”
क्रान्ति किन भइरहेको छैन त ?
इजिप्टका राष्ट्रपति होस्नी मुवारकले गत हप्ता सत्ता छोडेका छन् । यद्यपि त्यहाँ केही आन्दोलिनकारीहरु अझै जम्मा हुने क्रम छुटेको छैन । तर पनि आन्दोलनको गति रोकिएको छ । प्रश्न उठ्छ —इजिप्टमा गत हप्तादेखि नै किन आन्दोलनको गति रोकियो त ? एका एक आगोको मुस्लोको रुपमा उठेको आन्दोलन सेलाउनुको पछाडि के लुकेको छ ? केही समयअघि तुनेसिया र अहिले इजिप्टमा !
झण्डै चार दशकको अध्या“रोबाट एकैचोटि मिर्मिरे प्रकाश आउन लाग्दा इजिप्टका जनतालाई माक्र्सवादी विषयगत प्रतिनिधिहरुको नेतृत्व प्रदान हुन सकेन । इजिप्टको जनसमुदायलाई यथार्थ कार्यक्रम दिएर एक कदमपछि अर्को गर्दै आन्दोलनलाई विकास गर्दै लानु पर्ने अवस्था सिर्जना हुनुअघि नै पूँजीवादी शक्तिहरुले सत्ताको जिम्मा सैनिकहरुलाई दिन पुगे ।
अब इतिहासलाई यसरी हेरौं । रुसमा १९१७ को फेव्रुवरीको अन्तमा स्वतः स्र्फुत रुपमा निस्केको आन्दोलनको रा“कोको स्टेरिङ त्यहाँका मजदुरहरुले समाएका थिए । ती मजदुरहरु पहिलो विश्वयुद्धअघि नै वोल्सेभिक पार्टीबाट प्रशिक्षित थिए । वोल्सेभिक पार्टीको नेतृत्व लेलिनले गरेका थिए । आठ दिनको आन्दोलनले रुसी तानाशाह जारको शासनको अन्त गरेको थियो ।
त्यसपछि पनि केही राजनीतिक असझदारीका कारण त्यहाँको सत्ता त्यहाँको अर्को पुराना जारका समर्थकहरुबीच मिलिजुली हत्याउन पुगे । त्यहाँ सम्पूर्ण रसियनहरुको प्रतिनिधि पार्टी वोल्सेभिक आन्दोलित थियो ।
तर इजिप्टमा १९१७ ताका रुसमा भएको जस्तो वर्गीय पार्टी जसले सम्पूर्ण इजिप्टको प्रतिनिधित्व गर्छ । उपस्थित छैन । जुनसुकै पनि मुलुकको राजनीतिक परिवर्तनपछि त्यहाँको बलियो राजनैतिक पार्टीले तुरुन्त सत्ता सम्हाल्न सक्षम हुनु पर्छ र मात्र आन्दोलनकारी र जनताको प्रतिनिधित्व गरेको मानिन्छ । तर इजिप्टमा त्यस प्रकारको सबै तह, तप्का र इजिप्टका मजदुर किसानहरुको प्रतिनिधित्व भएको बलियो पार्टी उपस्थित छैन । त्यसैले त्यहाँ सैनिकहरुले सत्ता हातमा लिन पुगे । सैनिकहरुले शासन हातमा लिनु भनेको आन्दोलनको चाहनाको विपरीत हो र त्यस प्रकारका शासन सत्ताले जनताको प्रतिनिधित्व गर्दैन । किनभने, इजिप्टको सैनिक भनेको हिजोको हुस्नी मुवारकका सैनिक हुन् । हुस्नी मुवारकको सत्ताभित्र जन्मेकाहरु आज सैनिक अधिकारी छन् । उनीहरुका निम्ति हुस्नी मुवारक नै सबैथोक हो ।
इजिप्टका राष्ट्रपति हुस्नी मुवारकले काउन्टर रेमुलुसन गर्न नखोजेका हैनन् तर उनका सेना जनविद्रोहको मुस्लोमा गोलावारी गर्न अझै तैयार भइसकेको थिएन । किनकि सेनालाई थाहा थियो कि इजिप्टमा त्यस प्रकारको आन्दोलनपछि सत्ताको जिम्मेवारी लिन सक्षम सबै तह, तप्का र इजिप्टका मजदुर किसानहरुको प्रतिनिधित्व भएको बलियो पार्टी उपस्थित छैन भन्ने । यद्यपि इजिप्टको यहासम्मको परिवर्तन पनि रक्तपातविहीन थिएन ।
इजिप्टमा देखिएको परिदृष्टि के हो भने धनीवर्गका कामदार एवं मध्यमवर्गीय कामदारहरु यदि सडकमा उत्रिन्छन् र उनीहरु आफ्नो उद्देश्य थोरै मात्र खुलावोध भएको अवस्थामा छ भने क्रान्ति यसरी नै वीचमा छोडिने हुन सक्छ । तर यही प्रकारले स्वतः स्फूर्त रुपमा उठेको आन्दोलनको नेतृत्व माक्र्सवादी पार्टीले लिएको छ र उनीहरुको उद्देश्य तानाशाहलाई बढार्ने हो भने मात्र संघर्षको गति रोकिँदैन ।
त्यहाँका आन्दोलनकारीहरुले सडक खाली गरे तर उनीहरुको खास उद्देश्य त मुवारक फालेर अर्को सैनिक तानाशाह ल्याउने पटक्कै होइन । उनीहरुको उद्देश्य भनेको सम्पूर्ण इजिप्टेली जनता तानाशाही शासन ब्यवस्थाबाट मुक्त हुनु हो ।
सरसर्ती हेर्दा तुनेसियामा भएको आन्दोलन, त्यहा“ आन्दोलनबाट प्राप्त उपलब्धि र इजिप्टमा भएको आन्दोलनको रुप एकै प्रकारको देखिन्छ । तर यी दुई आन्दोलनकाबीच धेरै महत्वपूर्ण अबस्था र घटनाहरु फरक—फरक छन् ।
तुनेसियामा सत्ताधारीहरु दुबै मुलुकभित्र र बाहिरकालाई त्यहाँको आन्दोलनले बढारेको थियो । यहासम्मकि त्यहाँको प्रहरीहरु र आर्मीहरु समेतलाई आन्दोलनकारीले अलग राख्न सके । वेन अली र उनका नातेदारहरु समेतलाई मुलुकबाट भगाउन सफल भए । अन्यथा उनीहरुले आन्दोलनमा आफू बलिको बोका बनेको भनी इलाज खोज्न सक्दथे ।
तर इजिप्टमा त्यसो भएन । यद्यपि इजिप्ट भनेको अरवको मुटुमा रहेको एक अति शक्तिशाली आठ करोड जनसंख्या थामेको र जहाँ ५ लाखभन्दा बढी त पोशाकी सैनिकहरु रहेका छन् । जहा सैनिकले सत्ता हातमा लिएपछि लोकतान्त्रिक निर्वाचन हुने भनिए पनि कुनै निश्चितता भने रहन्न ।
मुवारकको पतन
तीन दशकदेखिको तानाशाही शासन व्यवस्थाका नाइके मुवारकको शासन सत्ताको अन्त भएको छ । तर उनको सत्ता अहिले सैनिकको हातमा गएको छ । विश्व राजनैतिक पर्यवेक्षकहरुले भने अहिलेको इजिप्टको अवस्था १९५२ मा फालिएको त्यहाँको राजतन्त्रको अवस्थासँग तुलना गरेका छन् ।
इजिप्टको आन्दोलनले इजिप्टको सैनिकहरुलाई भने दुई ध्रुवमा बिभाजन गर्न सफल भएको छ । तुनेसियामा पनि सैनिकहरु दुई समूहमा विभाजित भएका थिए । तर इजिप्टको दुर्भाग्य के भने सैनिकको जुन समूहले अहिले सत्ता लिएको छ र छिट्टै लोकतान्त्रिक निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने भनिरहेको छ त्यो समूह कतै मुवारकबाटै संचालित त होइन ? भन्ने एक प्रश्न अनुत्तरित छ ।
सैनिकहरुले जनतालाई “प्यार” देखाउनु वा सहानुभूति देखाउनु राजनीतिमा प्रयाप्त हुँदैन । सत्ता हातमा लिएका माथिल्ला सैनिकहरु समान्य सिपाहीको पक्षमा उभिएको हुनु पर्छ । तर यदि उनीहरुले हतियार हात लिएर तल्ला सिपाहीहरुलाई आदेश दिन थाले र गोली वारुदसहित इजिप्ट मार्च गर्दा इजिप्टको मुवारक पछिको रुप पनि जनताको विपक्षमा देखा पर्न सक्छ ।
सत्य कुरा त के हो भने चाहे मुवारकको शासन व्यवस्था होस् चाहे तुनेसियाको तत्कालीन अवस्था होस् यी दुवै साम्राज्यवादी शक्तिहरले मनपराउँदै आएका छैनन् । यहाँसम्म कि इजरायलले समेत यी दुवै देशहरुको विरोध गर्दै आइरहेको हो । अरवका लागि मुवारकको पतनलाई एक अर्थमा बीस बर्षअघि भत्केको बर्लिनको पर्खालसँग तुलना गर्न सकिन्छ ।
जब साम्राज्यवादी शक्तिहरुले पुराना सत्ताधारीहरुबाट अब आफ्नो स्वार्थ पूरा नहुने कुरा महशुस गर्न थाल्छन् तब त्यहाँ दुस्मनीको वीउ रोप्न थाल्छन् । चाहे तुनेसिया होस्, चाहे इजिप्ट, चाहे विश्वका अन्य मुलुकहरु किन नहोस् ।
क्रान्तिकारी संविधान सभाको माग
इजिप्टका जनता यथार्थमा एक क्रान्तिकारी संविधानसभाको निर्वाचन होस् भन्ने चाहन्छन् । निर्वाचन न त साम्राज्यवादी शक्ति न त हुस्नी मुवारक कसैको खेल मैदान बनोस् । उनीहरु स्वतन्त्र, लोकतान्त्रिक र निष्पक्ष निर्वाचनको पक्षमा छन् । हुन पनि इजिप्टमा स्वतन्त्र निष्पक्ष र लोकतान्त्रिक क्रान्तिकारी संविधानसभा मात्र इजिप्ट मजदुर र साना किसानहरुको समस्याको समाधानको बाटो देखाउने विकल्प हो ।
त्यहाँका मजदुर र किसानहरु इजिप्टमा एक समाजबादी लोकतान्त्रिक सरकार निर्माण होस् भन्ने चाहन्छन् । जसले समाजका सबै तह तप्का र वर्गको प्रतिनिधित्व गरोस् । त्यहाँ“को तत्कालको सवभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो । त्यो मुलुक कृषि प्रधान मुलुक होइन जहाँ अन्य रोजगारी नभए पनि कृषि उत्पादनबाट मानिसहरु वा“च्न सकुन् ।
यी सबैभन्दा पनि अझ महत्वपूर्ण कुरा त्यहा“को लागि के हो भने त्यहा“का आन्दोलनकारी जनताहरुको मुख्य आवश्यकता भनेको राजनीतिक हतियार आफ्नो हातमा लिनु हो । त्यसैले त्यहा“का विद्धान, कलाकार, कानून व्यवसायी, मजदुर, किसान सबै वर्ग र तह मिलेर एक महत्वपूर्ण पार्टी गठन गर्नु पर्छ । जुन पार्टीले जनतालाई विकल्प दिन सकोस् । साथै साम्राज्यवादी शक्तिहरुसँग टकराउन सकोस् । अन्यथा विश्वका अन्य कुना कुनामा देखिएको परिदृष्टि न्यूयोर्क र वासिँगटनको आदेशमा बमबारी गर्नेदेखि लिएर झुण्ड्याउने, काट्ने, मार्ने नियतिबाट इजिप्ट पनि मुक्त हुने छैन ।
पाकिस्तानको इतिहासले प्रष्ट पारेको छ कि पाकिस्तान एउटा मुसलमान राज्य हो तर साम्राज्यवादी शक्तिहरुको फुटाउ र राज्य गर भन्ने नीतिले आज त्यहाँ शान्ति छेन । त्यहा“को भविष्य गुमराहमा छ ।
इजिप्टको संघर्षले त्यहा“का हरेक जनतालाई परिचालित गरायो । त्यस भन्दा पनि माथि अरव राज्यहरुमा पनि शासन सत्ताको विरुद्ध लड्न त्यहाँका जनताको साहस रहेछ भन्ने देखायो । इजिप्टको आन्दोलन त्यहा“का शासकहरु— लोकतन्त्र सबैका लागि राम्रो व्यवस्थाा हालो तर अरव राज्यहरुका लागि होइन भन्नेहरुलाई चोटिलो प्रहार हो ।
साम्राज्यवादी शक्ति एंव पूंजीजीवीहरुको आडमा तीन दशकभन्दा बढी तानाशाही शासन व्यवस्था चलाउँदै आएका तानाशाही मुवारकले आफूलाई बलिको बोका सम्झनु कुनै जरुरी छैन । किनभने विश्वका जनताले आन्दोलनलाई कसरी हाँक्नु पर्दछ भन्ने सिकीसकेका छन् । वर्गको रुप, यसको चरित्र र यसको स्वार्थमा आएको परिवर्तनलाई पनि बुझिसकेका छन् र यसलाई कसरी संचालन गर्नुपर्छ भन्ने पनि सिकिसकेका छन् । यसैले विश्वका जनताको मुक्ति युद्धको अन्त भएको छैन यो त अब बल्ल शुरु भएको छ । यो मुक्ति युद्धको शुरुवात लेलिनले भने जस्तै दुई कुराका निम्ति हुने गर्दछ ।
मुवारक पतन पछि के ?
अचानक, हठात् र स्वतः स्पूmर्त रुपमा उठेका जन—उभारले तुनेसिया र इजिप्टका तानाशाहहरुलाई बढारेको छ । यी मध्यपूर्व र उत्तर अफ्रिकामा भएका राजनैतिक परिवर्तनले इरान, वहराइन, अल्जेरिया र अन्य विश्वका थुप्रै ठाउँहरुका मजदुर, किसान र युवाहरुलाई राम्रो पाठ सिकाएको छ ।
मुवारकको पतन र त्यो ठाउँमा आएको सैनिक शासन दुबै साम्राज्यवादी शक्तिका पृष्ठपोषक भएकाले अब भविष्यमा इजिप्टको भविष्य कस्तो हुने भन्ने तर्क गरिनु स्वाभाविक रहेको छ । विश्वका विभिन्न समुदाय र क्षेत्रबाट जेसुकै तर्क गरिए पनि यस पंतिकारले निम्न कुराहरु वहसमा ल्याउन चाहेको छ ।
+ इजिप्टका विद्धान, कलाकार, कानून व्यवसायी, मजदुर, किसान सबै वर्ग, तह र तप्कमा मिलेर एक बलियो समाजवादी लोकतान्त्रिक पार्टी गठन हुर्नु पर्छ । जुन पार्टीले जनतालाई नेतृत्व र विकल्प दिन सकोस् ।
+ जनताले सैनिक शक्तिप्रति विश्वास गर्नु हुदैन र कुनै पनि शक्ति यदि मुवारकको पक्षका छन् भने तिनीहरुसँग सरकारमा सहभागी पनि बन्नु हुदैन ।
+ अहिलेसम्मका राजनैतिक बन्दीहरु तुरुन्त रिहा हुर्नु पर्छ, भन्ने आवाज उठाउनु पर्छ ।
+ पूर्णरुपमा राजनैतिक स्वतन्त्रता लागू हुन माग गर्नु पर्छ ।
+ मजदुर सँगठन, विद्यार्थी सँगठन जस्ता सबैप्रकारका जनवर्गिय सँगठनले स्वतन्त्रता पाउनु पर्छ ।
+ मुवारकका पालामा भएका अपराधहरुको छानविन हुनु पर्छ ।
ड्ड तुरुन्त एक समाजसेवी लोकतन्त्रवादीहरुको सँगठन गठन हुनु पर्छ जसले नागरिक अधिकारको संरक्षणमा बोल्न आवाज उठाउने अधिकार राखोस् ।
+ सत्ता सैनिकहरले लिएकाले सैनिकभित्र एक लोकतान्त्रिकरण कमिटि गठन हुनु पर्छ, सैनिक शासनलाई निरन्तरता दिनबाट उक्त कमिटिले बन्देज लगाओस् । ता कि समयमै लोकतान्त्रिक मर्यादित, स्वच्छ निर्वाचन हुन सकोस् ।
+ सैनिक मुख्यालयबाट राजनीतिक शासन संचालन नहोस् । सैनिक शासनले तत्काल किसान एवं मजदुरबाट एक लोकतान्त्रिक सरकार गठन गरी निर्वाचन प्रकृयातर्फ तुरुन्त कदम चालोस् ।
+ सैनिकले संविधान मिच्ने काम गर्नबाट रोक लगाइयोस् ।
+ इजिप्टलाई विस्तारै समाजबादी लोकतान्त्रिक इजिप्टको निर्माणतर्फ कदम चालियोस् ।
तब मात्र इजिप्टमा भएको अहिलेको आन्दोलनको सफलताको ईज्जत रहनेछ र विश्वका अन्य मुलुकहरुले इजिप्टको उदाहरण लिन सक्ने छन् ।
(लेखक स्वतन्त्र विचारक हुन् । उनलाई उनको आफ्नो ब्लग The-Global मा अझ ज्यादा विस्तृतरुपमा पढ्न सक्नुहुनेछ भने उनलाई यस [email protected] इमेलमार्फत सम्पर्क राख्न पनि सक्नुहुनेछ ।-प्रधानसम्पादक)
प्रतिक्रिया