पोखरामा भलिबल ट्रेनिङ सेन्टर र सुचना केन्द्र स्थापना

पोखरामा भलिबल ट्रेनिङ सेन्टर र सुचना केन्द्र स्थापना


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले पोखरामा भलिबल सेन्टर एवम् उक्त भवनमा रहेको मिडिया सेन्टरको उद्घाटन रहेका छन् ।

१३ रोपनी जग्गामा ५९ लाख ९९ हजार ६ सय २३ रुपैयाँ २८ पैसामा पोखरा रंगशालामा निर्माण भएको भलिबल प्रशिक्षण केन्द्रमा दर्शक बस्ने प्यारापिट, ट्रेनिङ सेन्टर भवन लगायत चार भलिबल मैदान निर्माण गरिएको छ ।

सो अवसरमा पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भलिबल ट्रेनिङ सेन्टर भवनको साँचो पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै खेलकुद गतिविधिको सुचना तिब्ररुपमा जनसमक्ष पु¥याउने उद्धेश्यले पोखरारंगशालामा स्थापना भएको मिडिया सेन्टरको साँचो नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र सचिव रञ्जन अधिकारीलाई सदस्यसचिव विष्टले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै सदस्यसचिव बिष्टले खेलकुद पूर्वाधार विकासका लागि खेल प्रशिक्षण स्थलको निकैै आवश्यक हुने बताए । नेपालमा आयोजना हुने १३ औं सागको तयारीका क्रममा विभिन्न पूर्वाधारहरुको निर्माण गर्नु पर्ने तथा पोखरमा समेत केहि खेल आयोजना हुने भएकोले यो पूर्वाधारले खेलाडी उत्पादन तथा प्रतियोगिता सम्पन्न गर्न सहज हुने बताए ।

यस्तै उनले सुचना केन्द्रको स्थापनको सम्वन्धमा बोल्दै आगामी दिनमा खेल मैदानमानै बसेर सुचना प्रवाह गर्न यस सेन्टरले सहज बनाउने बताए । उनले पत्रकार प्रति कटाक्ष गर्दै खेलकुदको विकास गर्ने हो भने यथार्थ स्थिति नवुझी नकारात्मक सुचना प्रवाह गर्नु भन्दा सत्यतथ्य र सकारात्मक सुचना प्रवाह गर्न आग्रह गरेका थिए ।

१८ लाख ९० हजार १ सयको लागतमा स्थापना गरिएको मेडिया सेन्टरमा ईन्टरनेट सहितको १२ कम्प्युटर, एक प्रोजेक्टर, एक टिभी लगायत कुर्सी टेवलको व्यवस्था गरिएको छ ।