राखेपमा पनि भित्रियो ‘खेलकुद बस’

राखेपमा पनि भित्रियो ‘खेलकुद बस’


राष्ट्रिय खेलाडीहरूलाई विदेश जान र आउन तथा अन्य प्रयोजनका लागि पनि असुविधा भएपछि राष्ट्रिय खेलकुद परिषदले बस किन्ने निर्णय गरेको निकै अघि नै हो । उक्त निर्णयअनुसार ‘राष्ट्रिय खेलाडीलाई बस किन्ने’ शीर्षकमा आर्थिक बर्ष ०७४/७५ को बजेटमा राखेको थियो ।

आर्थिक वर्षको बजेटमा बस किन्ने शीर्षक परेपछि टेण्डर आह्वान गरी राष्ट्रिय खेलकुद परिषदले बस किन्ने प्रक्रिया अगाडि बढाएको थियो । सोहि प्रक्रियाअन्तर्गत अहिले राखेप परिसरमा टाटा कम्पनीको नयाँ बस भित्र्याइएको छ । उक्त बसको मूल्य ४० देखि ४५ लाख परेको राखेप स्रोतले जनाएको छ ।

परिषदले खेलाडीको लागि भनेर किनेको यो पहिलो बस हो । यो नै खेलकुदको पहिलो बस भएको छ । यसअघि खेलाडीको लागि राखेपले भ्यानको खरिद गरी व्यवस्था मिलाएको थियो । थुप्रै राष्ट्रिय खेलाडीहरू आवतजावत गर्दा भ्यानको यात्रा असुविधाजनक भएका कारण ठूलो बस खरिद गरिएको खेलकुद परिषद स्रोतले बतायो ।

अब यो नयाँ खेलकुद बसले राष्ट्रिय खेलाडीलाई एयरपोर्ट छोड्ने र ल्याउने कार्य गर्ने छ । यो वाहेक नेपालमा आयोजना हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि यो खेलकुद बस प्रयोग गरिने छ ।

राखेपमा थुप्रै चालक छन्, तर हेभी ड्राइभिङ लाइसेन्स भने श्यामसुन्दर राय नामक एकजनासँग मात्र छ । उक्त बस चलाउने जिम्मेवारी रायले पाउने बुझिएको छ । यसअघि उनी सदस्यसचिव र कोषाध्यक्षको गाडी चलाउँथे ।

परिषदले राष्ट्रिय खेलाडीहरूका लागि नयाँ बसको व्यवस्था गरेपछि खेलाडी तथा पदाधिकारीहरुले खुशी प्रकट गरेका छन् । उनीहरूले परिषदको यो कार्य सकारात्मक भएको टिप्पणी समेत गरेका छन् । सदस्यसचिव केशवकुमार विष्टलाई राम्रो काम गरेकोमा धन्यवाद समेत प्रकट गरेका छन् ।