मोरङका मतदाताले भने, ‘व्यवस्थित सडक बनाउनेलाई भोट’

मोरङका मतदाताले भने, ‘व्यवस्थित सडक बनाउनेलाई भोट’


मोरङका मतदाताले व्यवस्थित सडक निर्माण गरिदिन आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारसँग माग गरेका छन् ।

कच्ची सडकका कारण हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा आम सर्वसाधारणले सास्ती भोग्नुपर्ने बाध्यता भएकाले उम्मेदवारसँग व्यवस्थित सडक निर्माण गरिदिन अनुरोध गरेका हुन् ।

मोरङ बुधनगरका राजन कामतले गाउँ–गाउँमा कालोपत्र सडक विस्तार भए आम सर्वसाधारणको जीवनस्तरमा परिवर्तन आउने बताउँछन् । भोट माग्दै आउने उम्मेदवारसँग आम मतदाताको एउटै माग छ ‘कच्ची र ग्राभेल सडकलाई व्यवस्थित गरियोस् ।’ ‘गाउँ–गाउँमा विद्यालय स्थापना भइसक्यो, स्वास्थ्य चौकी पनि आइसक्यो अब भएका सडकलाई व्यवस्थित गर्नुपर्छ,’ कामतले भने, ‘सडक अभावकै कारण कृषि उत्पादन बजारसम्म पु¥याउन समस्या भएको हो ।’

ट्रयाक खोलिएका सडक खाल्डाखुल्डी भएर पानी जम्दा आवतजावतमा समस्या हुने गरेको छ । पिच सडक हुँदा १ घण्टामा पुग्न सकिने ठाउँमा अहिले ४ घण्टा लाग्ने गरेको विराटनगर–२ का सुभाष कामतको भनाइ छ । अब सडक सञ्जाल विस्तारमा बजेट खर्च गर्नुपर्नेमा दर्वेशाका मतदाता रुद्र कार्कीको भनाइ छ । ‘कनिका छरेजस्तो बजेट नछरी एकीकृत रुपमा सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्नुपर्छ,’ कार्की भन्छन, ‘विकसित मुलुकले पनि स्तरीय सडक विस्तारमै लगानी गरेका छन् ।’ राम्रो सडक हुँदा ठाउँको सुन्दरता पनि बढ्ने उनको कथन छ ।

मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् । मुख्य गरी नेपाली काँग्रेस र वाम गठबन्धनको प्रतिस्पर्धा हुने देखिएको छ । सबै उम्मेदवारले यतिबेला चुनावी सभा र मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन् । यो पटकको निर्वाचनमा पार्टीभन्दा माथि उठेर मतदान गर्ने मनस्थितिमा मतदाता देखिएका छन् । शिक्षाको गुणस्तरका लागि सामुदायिक विद्यालयको स्तरोन्नतिमा समेत ध्यान दिनुपर्नेमा मोरङका जनताको जोड्दार माग छ ।

‘विकासप्रेमी र जनताको सुखदुःखमा साथ दिने नेतालाई मतदान गर्ने योजना छ । झोराहाटका भरत गुरागाईं भन्छन्, ‘जसले विकासका राम्रा एजेण्डा लिएर आउँछन् उसैलाई भोट दिन्छौँ ।’ राससका अनुसार मोरङका मुख्य सडक मात्रै पिच भएका छन् । जनघनत्व भएको क्षेत्रमा पनि ग्राभेल मात्रै भएको छ ।