राष्ट्रपतिद्धारा पूर्व राष्ट्रपतिलाई ‘जनआन्दोलन स्वर्ण पदक’

राष्ट्रपतिद्धारा पूर्व राष्ट्रपतिलाई ‘जनआन्दोलन स्वर्ण पदक’


पूर्व राष्ट्रपति डा रामबरण यादव सम्मानित भएका छन् । पूर्व राष्ट्रपति यादवलवाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित गरेकी हुन् ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले सर्वमान्य नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा डा यादवलाई सम्मान गरिएको हो ।

सम्मान प्राप्त गरेपछि डा. यादवले भण्डारीलाई धन्यबाद दिदैं पूर्व राष्ट्रपतिको हैसियतमा आफ्नो जिम्मेवारी बढेको बताए ।

जनआन्दोलनको गरिमाका बारेमा राम्रै जानकार रहेको बताउँदै डा यादवले जनआन्दोलन स्वर्णपदकबाट अझ बढी देशसेवामा लाग्ने प्रेरणा मिलेको बताए ।

उनले गणेशमान सिंह नेपालकै एक साहसी योद्धा भएको भन्दै उहाँको सम्मान हुनुपर्नेमा पूर्व राष्ट्रपति यादवको भनाई थियो ।

त्यस्तै राष्ट्रपति भण्डारीले गणेशमान सिंहको योगदानको चर्चा गरीन् । यसअघि कार्यक्रममा रक्षा मन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेन दास प्रधानले भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रलाई १९९७ सालका शहीद धर्मभक्त माथेमाको नाममा नामाकरण गर्न प्रस्ताव गरेका थिए ।

सर्वमान्य नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको शान्तिबाटिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रधानले १९९७ सालका चार शहीदमध्ये अन्य तीन शहीदको नाममा विभिन्न स्थान नामाकरण भएपनि धर्मभक्तको नाममा केही पनि नभएकाले मानव प्रत्यारोपण केन्द्रलाई नामाकरण गर्न प्रस्ताव गरेका हुन् ।

मन्त्री प्रधानले अब बस्ने मन्त्रीपरिषदको बैठकमा यो प्रस्ताव लैजाने पनि जानकारी गराएका छन् ।