गौचनका हत्यारा सार्बजनिक गर्न प्रहरी असफल

गौचनका हत्यारा सार्बजनिक गर्न प्रहरी असफल


निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको एक महिना पुरा भएपनि नेपाल प्रहरीले हत्यारा अझै सार्बजनिक गरेको छैन् ।

केही दिनभित्रै अपराधी पक्राउ गर्ने दाबी गरेको प्रहरीले लामोसमयसम्म हत्यारा पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धानमाथिनै प्रश्न खडा भएको छ ।

अहिले मृतकका आफन्त तथा निर्माण व्यवसायीहरू हत्यारा पत्ता लाग्न नसकेको भन्दै आक्रोशित छन् । महिना बितिसक्दासमेत प्रहरी अनुसन्धानबाट कुनै उपलब्धि हासिल हुन नसकेको उनीहरूको आरोप छ ।

२३ असोजमा घरबाट कार्यालय जाने क्रममा बानेश्वर, शान्तिनगरमा गाडीभित्र रहेका गौचनमाथि गोली प्रहार भएको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो ।

घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयका डिआइजी केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा विशेष ब्युरो, सिआइबी, अपराध महाशाखाका तथा महानगरीय प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू छन् ।

अनुसन्धान सुरु भएको एक साताभित्र प्रहरीले घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकल बरामद गरेको थियो ।

बरामद गरिएको एउटा पल्सर र एउटा साइन ब्रान्डको मोटरसाइकलमध्ये एउटा मोटसाइकल चोरीको थियो । अर्काे मोटरसाइकल एक वर्कसपको नाममा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल भेटिए पनि आक्रमणकारीहरू अझै भेटिएका छैनन् । प्रहरीले समीरमानसिंह बस्नेत र मनोज पुनको समूहमाथि अनुसन्धान गरे पनि कसैलाई पक्राउ गर्न सकेको छैन ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरूबीच राम्रो तालमेल नहुँदा गोली हान्नेहरूलाई पक्राउ गर्न ढिला भएको प्रहरी स्रोत बताउँछ । प्रहरी प्रवक्ता मनोज न्यौउपानेले यसबारेमा अनुसन्धान भैइरहेको बताउँदै छिट्टै हत्यारा सार्वजनिक गरिने बताए ।

चैतमा काभ्रेका दावा लामालाई गोली हान्ने समूहसँग गौचन हत्याको सम्बन्ध भेटिएको स्रोतको दाबी छ । तर प्रहरीले लामोसमय सम्म हत्यारा सार्बजनिक गर्न नसक्नु दुखद रहेको जानकारहरु बताउछन् ।