५० औं राष्ट्रिय करातेः पहिलो दिन आर्मी र पुलिसको दबदबा

५० औं राष्ट्रिय करातेः पहिलो दिन आर्मी र पुलिसको दबदबा


राखेप च्याम्पियनसिपअन्तर्गत ५० औं राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन विभागीय टोलीको वर्चस्व रहँदा त्रिभूवन आर्मी क्लब र नेपाल प्रहरीले समान ४–४ स्वर्ण जितेका छन् ।

पहिलो दिन ९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा नेपाल एपीएफ क्लबले एक स्वर्णमा चित्त बुझाएको थियो ।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल कातामा एपीएफबाट भर्खरै आर्मीमा आबद्ध भएका पर्शुराम बाँस्तोलाले स्वर्ण जिते । पर्शुराम पाँचौंदेखि सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् । एपीएफका गुबीराम घले दोश्रो तथा मध्यमाञ्चलका यनोज महर्जन र प्रहरीका मन्डकोजी श्रेष्ठ तेश्रो भए ।

सोही स्पर्धाको महिलामा प्रहरीकी निर्मला तामाङ पहिलो भइन् । पश्चिमाञ्चलकी विमला नेपाली दोश्रो तथा मध्यपश्चिमाञ्चलकी एलिना थापा मगर र मध्यमाञ्चलकी ज्योति गिरी तेश्रो भइन् । पुरुष टिम कातामा आर्मी पहिलो, सुदूरपश्चिमाञ्चल दोश्रो तथा एपीएफ र मध्यमाञ्चल तेश्रो बने । महिलातर्फ प्रहरीले स्वर्ण र मध्यमाञ्चलले रजत जिते । एपीएफ र सुदूरपश्चिमाञ्चलले कांस्यमा चित्त बुझाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ४५ केजीमा आर्मीका आकाश पाल पहिलो भए । फाइनलमा उनले पश्चिमाञ्चलका बलराम अधिकारीलाई पराजित गरेका थिए । सुदूरपश्चिमाञ्चलका सागर विक र मध्यपश्चिमाञ्चलका सुरज नेपाली संयुक्त रुपमा तेश्रो भए । ५० केजीमा आर्मीकै मणिकुमार सुनुवारले फाइनलमा प्रहरीका सोनाम लामालाई हराउदै शीर्ष स्थान कब्जा गरे । एपीएफका लक्ष्मण तामाङ र पूर्वाञ्चलका विवेक थापा तेश्रो भए ।

महिला ५० केजीमा एपीएफकी अनु अधिकारी च्याम्पियन बनिन् । फाइनलमा अनुले पश्चिमाञ्चलकी उर्मिला दर्लामीलाई पराजित गरेकि थिइन् । पूर्वाञ्चलकी प्रीति बस्नेत र प्रहरीकी कोपिला विष्ट तेश्रो स्थानमा सीमित भए । प्रहरीकी मल्लिका थापा ५५ केजीमा पहिलो बनिन् । फाइनलमा मल्लिकाले एपीएफकी मनीषा चौधरीलाई पाखा लगाइन् । पश्चिमाञ्चलकी अन्जली विक र पूर्वाञ्चलकी विद्याकला राई तेश्रो स्थानमा रहे ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले उद्घाटन गरेका थिए । सो अवसरमा हालै राखेपमा ५८ वर्ष सेवा पूरा गरी अनिवार्य अवकास पाएका करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ र पूर्व सहायक मुख्य प्रशिक्षक अक्बर शाहलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोली (आर्मी, प्रहरी र एपीएफ) का १ सय ८४ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । यसै प्रतियोगिताबाट उत्कृष्ट २३ खेलाडीलाई राष्ट्रिय टिममा समावेश गराइ विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई तयार गरिने छ ।