डा. केसीका अधिकांश माग पुरा, चिकित्सा शिक्षा अध्यादेश जारी

डा. केसीका अधिकांश माग पुरा, चिकित्सा शिक्षा अध्यादेश जारी


प्रा.डा. गोविन्द केसीको मागलाई सरकारले सम्बोधन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेशलाई प्रमाणिकरण गरेपछि अबको १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्ने बाटो पनि बन्द भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार राष्ट्रपति भण्डारीले गत कात्तिक ६ गते मन्त्रिपरिषदबाट अध्यादेशका रुपमा पारित गरी पठाएको चिकित्सा शिक्षा विधेयकलाई शुक्रबार अनुमोदन गरेकी हुन् ।

राष्ट्रपतिबाट अनुमोदित अध्यादेशमा चिकित्सा शिक्षा आयोगले निर्धारण गर्ने मापदण्ड भित्र परेमा मात्रै हालसम्म आसयपत्र लिएका मेडिकल कलेजले सञ्चालनका लागि सम्बन्धन पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी उपत्यकाका तीन जिल्लामा अबको १० वर्षसम्म मेडिकल कलेज खोल्न आसयपत्र नदिने व्यवस्था पनि यसमा गरिएको छ ।

त्यस्तै मेडिकल कलेज नभएका प्रदेशमा सरकारले नै अनिवार्य रुपमा मेडिकल कलेज खोल्ने, ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने, वार्षिक किश्तामा शुल्क तिर्न पाउने र शुल्क आयोगले निर्धारण गरे बमोजिम हुने व्यवस्था गरिएको छ ।

यो अध्यादेश प्रमाणिकरण भएसँगै पटक पटक अनशन बस्दै आएका डा. केसीका अधिकांश मागहरु पनि सम्बोधन भएका छन् ।

प्रधानमन्त्री देउवाले यो अध्यादेशलाई तत्कालीन प्रमाणीकरणका लागि अघि बढाउन निर्देशन दिएलगत्तै शिक्षा मन्त्रालयले राष्ट्रपतिको कार्यालयमा पठाएपछि प्रमाणीकरण भएको हो ।