नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघद्वारा टुडिखेलमा आयोजित चौथो राष्ट्रिय प्रतियोगिताको ‘हर्स सो’ तर्फ करण चौधरीले पहिलो स्थान हासिल गरेका छन् । करनले ‘पुरुष हर्स शो’ जम्पमा प्रतिद्वन्दीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन । उक्त ‘हर्स शो’ मा आर्मीका लालबहादुर कुँवर दोश्रो र राम दाहाल तेश्रो भएका थिए ।
त्यस्तै पुरुष टेन्ट पेगिङमा पर्शुराम बुढा मगर पहिलो, राजेन्द्र थापा दोश्रो र खतबहादुर कार्की तेश्रो भए । यसैगरि पुरुष हाइ जम्प विधामा रामचन्द्र कट्वालले स्वर्ण तथा रामहरि खड्काले रजत जितेका थिए । यो विधामा करणले सहभागिता जनाएपनि उत्कृष्ट प्रदर्शन गर्न असफल भएका थिए । करणले काँश्य पदकमै चित्त बुझाउनु परेको थियो । करण बाहेक सबै पदक विजेता आर्मीका खेलाडी हुन ।
तीनवटै विधामा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार जितेका थिए ।
प्रतियोगिताका दौरान महिला खेलाडीले सिक्स बार जम्प विधामा प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । आर्मीका हरिकुमारी गुरुङ, यामकुमारी राणा, शारदा केएम र कविता थापाले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । उनीहरुलाई प्रोत्साहन स्वरुप जनही ४ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
विजेतालाई सेना प्रमुख राजेन्द्र क्षेत्रीलगायतले पुरस्कृत गरेका थिए । एकदिने प्रतियोगितामा ९ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेको इक्वेस्ट्रियन संघका महासचिव बलराम श्रेष्ठले जनाएका छन् । प्रमुख जज मेजर विक्रम थापा, जज क्याप्टेन उमेश पुरी र मोहम्मद फाजिल र सहायक जुरी सन्तोष बुढाथोकीले प्रतियोगिता सञ्चालन गरेका थिए ।
प्रतिक्रिया