चन्दा दिँदा चेकको प्रयोग गर्न निजी क्षेत्रलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

चन्दा दिँदा चेकको प्रयोग गर्न निजी क्षेत्रलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह


प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले चन्दा दिंदा चेकको प्रयोग गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

चुनावको मिति नजिकिएसँगै दलहरुले व्यवसायीबाट मोटो चन्दा असुल्ने क्रम शुरु भएको गुनासो बढेका बेला प्रमुख निर्वाचन आयुक्त यादवले निजी क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा चन्दा दिंदा चेकको प्रयोग गर्न आग्रह गरेका हुन ।

निर्वाचन आचारसंहिता विपरित दलका कार्यकर्ता र उम्मेदवारका प्रतिनिधिले चन्दा संकलन कार्य तीव्र बनाएपछि आयोगले उद्योगी व्यवसायीसँग चन्दाको मितव्यीताबारे छलफल शुरु गरेको हो ।

राजधानीको कान्तिपथस्थित आयोगको मुख्यालयमा भएको छलफलमा उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ लगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए ।

राजनीतिक लाभ तथा अन्य प्रलोभनमा ब्यवसायीले दल तथा उम्मेदवारलाई आर्थिक सहयोग गर्ने गरेका छन् । तर यसरी प्रदान गर्ने सहयोग पारदर्शी हुन नसकेकाले चेकको प्रयोग गर्न आयोगले सुझाएको छ ।

छलफलका क्रममा प्रमुख आयुक्त यादवले आचारसंहिताको पालनामा जिम्मेवार बन्न ब्यवसायीलाई आग्रह गरे ।