आँखाको क्यान्सरका लागि तिलगंगामा केमोथेरापी सेवा शुरु हुने

आँखाको क्यान्सरका लागि तिलगंगामा केमोथेरापी सेवा शुरु हुने


आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा सम्बन्धित बिरामीलाई निकै असुविधा भएको छ । तर, अब यो असहजताबाट बिरामीले मुक्ति पाउने भएका छन् । तिलगंगा आँखा प्रतिष्ठानले ‘केमोथेरेपी’ सेवा शुरु गर्ने भएको छ ।

केमोका लागि बाहिर बिरामी पठाउँदा उनी फर्केर नआउने, उपचार बीचमै छाड्ने र फ्लोअप जाँचमा नआउने क्रम निकै बढेको सो अस्पतालका क्यान्सर विभागका प्रमुख एवम् आँखा क्यान्सर विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार स्थापित बताउँछन् । यो विडम्बना बढ्दै गएपछि अबको एक महिनापछि ‘केमोथेरापी’ सेवा शुरु गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए ।

‘आँँखाका क्यान्सर भएका बच्चाका लागि कान्ति बालअस्पतालमा पठाउने गरिएको छ, त्यहाँ पुगेका बिरामी धेरै फर्केर आउदैनन्, हाम्रो निगरानीमा नै उपचार गर्न तिलगंगामा नै यो सेवा शुरु गर्न लागेका हौँ,’ उनले बताए ।

एकजना नर्सले तालीम लिएर आइसकेको र अन्य भौतिक पूर्वाधार निर्माण पनि करिब अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदै उनले भने, ‘क्यान्सरका बिरामीले पाउने एक लाखसम्मको उपचार सुविधा पनि शुरु गर्ने विषयमा काम भइरहेको छ ।’

‘केमो थेरापी गर्नुअघि बेहोस् पारेर हेर्ने मेसिन र रेट क्याम मेसिन (ट्युमर हेर्ने, कति बाँकी छ, पूरै हटेको छ वा छैन, नहटेको भए हटाउने मेसिन) पनि हामीले ल्याउँदैछौं, जुन मेसिन नेपालमै छैन,’ आँखा क्यान्सर विशेषज्ञ डा. स्थापितले भने। यो मेसिन जर्मनस्थित एक फाउन्डेशनले दान गर्न लागेको राससले जनाएको छ ।