एक महिलासहित लागू पदार्थ कारोबारीहरु पक्राउ

एक महिलासहित लागू पदार्थ कारोबारीहरु पक्राउ


विभिन्न अपराधमा संलग्न भएको आरोपमा धनुषा प्रहरीले दुई राजनीतिक कार्यकर्तालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार एक र अर्को नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका व्यक्ति धनुषा प्रहरीद्वारा पक्राउ गरिएका हुन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका सोही नगरपालिका–३ बस्ने ५० वर्षीय कालसियादेवी महरालाई धनुषा जिल्लाको सबैला नगरपालिका वडा नंं १३ स्थित कमला नदीको किनारको ढोलबजा भन्ने स्थानबाट ठूलो मात्रामा लागुपदार्थ लुकाइछिपाइ बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । सोही कारोबारमा संलग्न गणेशमान चारनाथ नगरपािलका–३ का २४ वर्षीय देवेन्द्र महरा र सोही वडाका ४३ वर्षीय रामअवतार महरालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएकाबाट १० किलो गाँजा (३ पोका), मोबाइल दुई थान र सीमकार्ड दुई थान बरामद गरिएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा धनुषा जिल्ला नगरपालिका–८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका ५७ वर्षीय सकुर मियाँलाई अबैध रूपले हातहतियार लिएर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको छ । प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार मियाँबाट एक थान कटुवा पेस्तोल, एसएल, आरमा प्रयोग हुने गोली तीन राउण्ड, मोबाइल दुई थान, सीमकार्ड दुई थान र ज ८ प ५०९६ नं. को डिस्कभर मोटरसाइकल एक थान बरामद गरिएको छ ।