तिब्बत हेर्ने आँखा वहुआयामिक हुनुपर्छ

तिब्बत हेर्ने आँखा वहुआयामिक हुनुपर्छ


—शशी पौडेल
वुद्ध धर्मका धर्मगुरु दलाइ लामालाई अमेरिकी एंव पश्चिमेली साम्राज्यवादी शक्तिहरुले तिब्बतको सिमित घेरा भित्रको चीन विरोधी राजनीतिमा सक्रिय गराउँदै आए । दलाइ लामालाई मात्र तिव्वतको नेता बनाई चीन विरोधी राजनीतिमा सक्रिय गराउनु उनको अपमान हो । उनी त अलास्कादेखि दक्षिण अफ्रिका सम्म र जापानदेखि अष्ट्रेलिया सम्म, समग्र विश्वमा बस्ने रहने मानव जातिका आदर पुरुष हुन् र विश्वमा छरिएर रहेका वुद्ध धर्मावलम्वीहरुका धर्म गुरु हुन् । अहिले बल्ल दलाइ लामाले आफ्नो जिम्मेबारी तिव्वतको मात्र नभई समग्र विश्वको हो भन्ने बुझेको अनुभूति भएको छ । गत बर्ष देखि उनले चीन विरोधी राजनीतिक जिम्मेवारी आफूले नलिने निर्णय गरेका छन् ।
मार्च महिनाको दोस्रो हप्ताको मध्य अर्थात् दश मार्चका दिन तिव्वतबाट अन्य मुलुक गई बसोबास गर्दै आएका तिव्वतीहरुले पनि यस दिनलाई कालो दिन मान्दै आएका छन् । १९५९ मा तिव्वतबाट फरार भएका वौद्ध भिक्षु दलाइ लामाको निर्देशनमा हुने यो आन्दोलनलाई कसरी हेरिनु पर्दछ भन्नेबारे मैले गत तीन बर्षअघि बेलायतबाट प्रकाशित एक अर्को साप्ताहिक नेपाली सन्देशका लागि लेखेको थिएं । प्रस्तुत छ तिव्वत आन्दोलनलाई बहुआयामिक दृष्टिले हेरिनु पर्छ भन्ने आसयको ८ अप्रिल २००८ मा प्रकाशित उक्त लेख :—
केही समयदेखि तिब्बती बौद्ध भिक्षुहरुले तिब्बतमा आन्दोलन गरिरहेका छन् । आन्दोलनको स्वरुप र मागहरु चाँही धार्मिक दृष्टिकोणले भन्दा राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ । आन्दोलनलाई राजनीतिक नेताहरु, संचारमाध्यमका पण्डितहरु (बिशेष गरी पश्चिमेली), गायक र पप स्टारहरु, हलिउडका कलाकारहरुले हो मा हो साथ मिलाएका छन् । त्यति मात्र नभएर उनीहरुले २००८ अगस्त महिनामा चीनमा हुन सम्पन्न ओलम्पिक खेल पनि वहिस्कार गर्नु पर्छ भन्ने तर्क दिएका थिए ।
यतिखेर विश्वका मजदुर वर्ग, चीन र तिब्बत सम्वन्धका बारेमा ज्ञान राख्ने विश्व समुदाय र समाजवादी दृष्टिकोण राख्ने बुद्धिजीवी वर्गहरुका लागि चीनको तिब्बत क्षेत्रमा भएको सो आन्दोलनले के महत्व राख्छ र आन्दोलनलाई कसरी हेरिनु पर्छ त ? भन्ने प्रश्न उठ्नु स्वभाबिक छ ।
तिब्बत–चीनको प्रश्नमा पश्चिमेली संचार माध्यमले मात्रै हैन आफूलाई राजनीतिका पण्डित भन्नेहरुले पनि एकतर्फी व्याख्या गरिरहेका छन् । उनीहरु भन्छन् ‘कम्यूनिष्ट चीनले स्वतन्त्र तिब्बतमाथि आक्रमण गर्‍यो र आफ्नो कब्जामा लियो । दलाइ लामा बिदेशिनु पर्‍यो । जसले गर्दा तिब्बतको धर्म एंव संस्कृतिसमेत बाँचिरहन सकेन ।’
अब हेरौं उक्त भनाइमा कति सत्यता छ । अथवा यो एक आरोप मात्र हो । चीनको केन्द्रिय सरकारले १९४९ मा बेजिङमा तिब्बतसँग दुई पक्षीय दूतावासीय संझौता गरेको थियो । उक्त सम्झौतामा भनिएको छ । ‘ऐतिहासिक तथ्यका अनुसार तिब्बत चीनको एउटा भाग मात्र हो ।’
जब जब तिब्बतमा तनाव शुरु हुन्छ तब साम्राज्यवादी शक्तिहरु कम्मर कसेर चीनका विरुद्ध लाग्छन् । र ऐतिहासिक यर्थाथता, चीन र तिब्बतका दुवै सामन्तवादी सामाजिक इतिहासलाई नजरअन्दाज गर्न थाल्छन् । चीनले १९४९ भन्दा पहिलो भएका तिब्बत चीनबीचका सम्झौताहरु अघि सार्न चाहन्न किनभने ती सम्झौताहरु अन्यायपूर्ण थिए । यदि हामीले तिब्बतको इतिहासलाई बुझ्ने प्रयास गर्छौ भने तिब्बत चीनको बीसौं शताब्दीभन्दा अगाडिको इतिहास पल्टाउनु पर्छ । अनि मात्र वर्तमान तिब्बत–चीन तनावलाई बुझ्न मद्दत पुग्ने छ ।
तिब्बत लगभग तेह्रसय बर्षसम्म चार राज्यका रुपमा सामन्ती राजा मंगोल र मंचुहरुबीच बाँडिएको थियो । त्यतिखेर थुप्रै विखण्डनहरु भए र पछि फेरि मिल्दै गए । लगभग छैटोदेखि नवौं शताब्दीसम्म तिब्बतले यति ठूलो साम्राज्य बढायो कि चीनको तत्कालीन राजधानी छियाङ्गसम्म कब्जा गर्न पुग्यो । त्यतिबेलै चीनमा तिब्बतीयन राजामार्फत बुद्ध धर्म भित्रभित्रै दशौं बर्षसम्म तनाव रहिरह्यो र तिब्बतमा प्रथम लिपी संस्कृत लिपी ल्याइयो । त्यस पछि तिब्बत र चीनबीच ‘काका भतिजा’ जस्तै दुई पक्षीय सम्झौता भयो ।
नवौं शताब्दीको मध्यदेखि तेह्रौं शताब्दीको मध्यसम्म तिब्बत टुक्रा–टुक्रा भयो । दर्जनौं राजा रजौटाहरु भए, दर्जनौं क्षेत्रमा बिभाजित भयो । त्यति खेर तिब्बतमा बुद्ध धर्म पनि विभिन्न समूहमा विभाजन थिए । तर एउटा पक्षले चाँहि नेतृत्व गर्दै आयो । जसलाई राज्यले यो हाम्रो धर्म हो भनी घोषणा गर्‍यो र त्यसैलाई मुख्य धार्मिक शक्तिको रुपमा मानियो । तेह्रौं शताब्दीको मध्यतिर मंगोलहरु चीनमा शक्तिमा आए र तुरुन्तै आफ्नो पहुँच तिब्बतसम्म पुर्‍याए ।
तिब्बतको त्यतिखेरको इतिहास अत्यन्तै तनावपूर्ण थियो । किनभने त्यतिखेर तिब्बती राजा–रजौटाहरुको शक्ति र अल्पमतमा परेका अन्य धार्मिक समूहबीच मंगोलहरुका कारणले ठूलो संघर्ष भएको थियो ।
मंगोलहरु तिब्बतका बुद्धधर्मावलम्वी शाक्य मुनीहरुसँग सम्झौता गर्न पुगे । जसले गर्दा मंगोल–शाक्यमुनी बुद्ध धर्मको समूह एक ठूलो र बलियो धार्मिक समूह बन्यो । जब त्यो बुद्धधर्मालम्वीहरुको समूह बलियो बन्यो तब बुद्धधर्म र युरोपियन चर्चहरुसँगको तनाव झन चर्किएर गयो । मंगोलियनहरुले तिब्बती बुद्धधर्मलाई स्वीकार मात्र गरेनन्, संस्कृति, चालचलन, चाडपर्व र राजनीति समेतलाई आत्मसात गरे ।
पन्ध्रौं शताब्दीताका चीनिया मंगोल र तिब्बती शाक्यमुनीहरुको शक्तिशाली झुण्डबाट एउटा समूह टुक्रियो । उक्त टुक्रिएको समूह गोलुक्याको नामबाट परिचित भयो । त्यतिबेला तिब्बतमा उक्त समूह गोलुक्यालाई ‘पहिलो टोपी‘ बुद्धिष्ट भनिने गरिन्थ्यो । सो समूहले हामी सही तिब्बती बुद्धिष्ट हौं भन्दै बुद्ध धर्मको धार्मिक ग्रन्थलाई मान्न थाले । यसरी गोलुक्याहरु मंगोलबीच हावी हुँदै गए ।
गोलुक्याका मुख्य धर्म गुरु सोनाम गियात्सो १५७८ मा धार्मिक उपदेश दिनका निम्ति मंगोलिया पुगे । उनको धार्मिक उपदेशबाट प्रसन्न भई मंगोलका नेता आल्टान खानले सोनाम गियात्सोलाई ‘दलाइ लामा बज्रधारा’ नामक उपाधी दिए । ‘दलाइ’ भनेको तिब्बती भाषामा समृद्ध भनिएको हो । उनी धार्मिक शिक्षा र ज्ञानका समृद्ध हुन् । ‘लामा’ को अर्थ तिब्बतीयन भाषाको ‘पंडित’ हो र बज्रधारा भनेको संस्कृतमा ‘बिजुली’ अर्थात् ‘बज्र’ भनिएको हो ।
दलाइ लामाहरुको अगामन र गोलुक्या धर्म समृद्ध र मंगोल साम्राज्यलाई नजिकबाट चिहाउँदा चौथा दलाइ लामा गोलुक्या समूहका नभएर मंगोल साम्राज्यका थिए । उनको नाम ‘योन्तेन ज्यात्से’ थियो र उनी आल्टान खानका परिवार मध्येका एकजना थिए । यसरी हेर्दा दलाइ लामाको जिम्मेबारी तिब्बतका धर्मगुरु बनेर तिब्बतमा मात्र हैन खास गरी उनी मंगोल साम्राज्यबाट नियुक्त भएका हुन् र उनलाई मंगोल साम्राज्य भित्रको धार्मिक गुरुको रुपमा नियुक्त गरिएको हो । गोलुक्या नेतृत्वको जिम्मेवारी समग्र तिब्बतमा छैन किनभने तिब्बतकै केही भागमा गोलुक्याहरुलाई मंगोलहरुको मध्यस्थता भएकाले सोह्रौं शताब्दीको मध्यतिर राता टोपीवाला भनेर भनिने गरिन्थ्यो । अझ गहिरिएर इतिहास पल्टाउने हो भने दलाइ लामा गोलुक्याहरुको धार्मिक गुरु हैनन् । तिब्बती गोलुक्याहरुको धार्मिक गुरु त ग्रान्डेन डिपा हुन् । यद्यपि ग्रान्डेन डिपा दलाइलामाबाट नियुक्त हुन्छन् ।
अहिलेसम्म चौधवटा दलाइ लामाहरु मध्ये खासगरी तीनवटाले मात्र शासन चलाउन सके । केही दलाइ लामाहरुको त अठार बर्षको उमेर पनि हुन पाएन । सत्रौं शताब्दीदेखि बीसौ शताब्दीसम्म तिब्बत ठूलो राजनीतिक षडयन्त्र, हत्या र आंतकको तनावबाट गुज्रिरहेको थियो । एक दलाइलामाको मृत्यू दश बर्षसम्म लुकाएर राखे । नत मृत्यू घोषणा गरे, नत नयाँ दलाइ लामा नियुक्त गरे, किनभने त्यति खेर भिक्षुहरु सुरक्षित थिएनन् । यहाँसम्म कि अविवाहित महिला भीक्षुहरु पनि असुरक्षित थिए ।
तिब्बतले निरन्तर रुपमा आफ्नो सुरक्षाको खोजी गर्दै आयो । कहिले मंगोल साम्राज्यवाद त कहिले चीनका मंचुहरुबाट । मंगोलियन साम्राज्यले तिब्बतबाट चासो घटाउँदै लग्यो र त्यसको ठाउँ चीनमा मंचुहरुले लिए । १७२० मा चीनियाँ सैनिकहरुले पहिलो पटक तिब्बतमा शान्ति स्थापना गरे । त्यस पछि फेरि लडाइ भयो । १७५० मा पुनः चिनियाँहरुले तिब्बतमा शान्ति स्थापना गर्नु पर्‍यो । नेपालका स्वर्गीय राजा पृथ्वीनारायण शाहको पालामा १७७१ मा तिब्बतमा शान्ति स्थापना गर्न सिचुवाको खासा क्षेत्रमा भएको युद्धको कारण नेपालबाट गोर्खालीहरु प्रवेश गर्नु पर्‍यो ।
उपरोक्त ऐतिहासिक प्रमाणका कारण नवौं शताब्दीदेखि बीसौं शताब्दीसम्म तिब्बतको कसैसँग न त आधिकारिक एकता थियो । नत तिब्बत स्वतन्त्र नै थियो । तिब्बतको सामान्तवादी सत्ता भौगोलिक कारणले एक्लै परिरहेको थियो र बाहिरी शक्तिले छेंडपेच गर्ने भौगोलिक क्षेत्रको रुपमा रहँदै आएको थियो । कुनै पनि बाहिरी शक्ति तिब्बतप्रति चासो दिन्थेनन् किनभने त्यहाँ न त तेलको खानी छ न त सुन वा चाँदीका खानीहरु तर बीसौं शताब्दीबाट जब प्रजातान्त्रिक तवरबाट त्यहाँको एकलपनको अन्त भयो र विश्वको अगाडि ‘तिब्बत’ भनेर परिचित गराउन चिनिया राज्यले अर्थशक्ति र जनशक्तिको लागनी गर्‍यो तबदेखि अमेरिकी साम्राज्यवादी शक्ति अझ खासगरी सिआइएले दलाइ लामालाई बार्षिक एकलाख छयालिस हजार अमेरिकी डलर तलब दिएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न चीनको विरोधमा लगाउँदै आइरहेको छ ।

(लेखक स्वतन्त्र विचारक हुन् । उनलाई उनको आफ्नो ब्लग The-Global मा अझ ज्यादा विस्तृतरुपमा पढ्न सक्नुहुनेछ भने उनलाई यस [email protected] इमेलमार्फत सम्पर्क राख्न पनि सक्नुहुनेछ ।-प्रधानसम्पादक)