१० ठाउँमा क्षेत्रीय स्तरका मिडिया सेन्टर खोल्ने काँग्रेसको तयारी

१० ठाउँमा क्षेत्रीय स्तरका मिडिया सेन्टर खोल्ने काँग्रेसको तयारी


आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको प्रचार अभियान तिव्र पार्न सातै प्रदेशका १० मुख्य स्थानमा मिडिया सेन्टर स्थापना गर्ने नेपाली काँग्रेसले जनाएको छ ।

मिडिया सेन्टरका संयोजक शुरेस आचार्यका अनुसार आगामी २७ गते धनगढी, नेपालगंज, सुर्खेत, बुटवल, नारायणगढ, पोखरा, बिरगंज, जनकपुर, इटहरी र झापामा गरी एकै पटक १० मुख्य स्थानलाई केन्द्रित गरेर मिडिया सेन्टर खोल्ने तयारी भएको छ ।

‘२७ गते सातै प्रदेशका १० स्थानमा मिडिया सेन्टरको प्रमुख नेताहरुद्धारा उद्घघाटन गर्ने कार्यक्रम छ,,’ आचार्यले भने ।

पोखरामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, जनकपुरमा विमलेन्द्र निधि, झापामा कृष्ण सिटौला, बिरगंजमा रमेश रिजाल, धनगढीमा बद्री पाण्डेले मिडिया सेन्टरको उद्घघाटन गर्ने आचार्यले जानकारी दिए । अन्य स्थानमा पनि केन्द्रीय नेताहरुले सेन्टरको शुरुवात गर्ने आचार्यले बताए ।

सो स्थानमा खोलिएका मिडिया सेन्टर मार्फत छिमेकी जिल्लाहरुमा पार्टीका जिल्ला स्तरका नेताको संयोजकत्वमा उपसमिति गठन गरिने छ भने मिडिया मनिटरिङ्गको जिम्मा प्रेस युनियनले लिने युनियनका अध्यक्ष बद्री सिग्देलले बताए ।