राष्ट्रिय कराते च्याम्पियनसिप नेपाल प्रहरीलाई

राष्ट्रिय कराते च्याम्पियनसिप नेपाल प्रहरीलाई


नेपाल प्रहरी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत ५० औं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । १९ स्पर्धा समावेश प्रतियोगितामा सर्वाधिक ८ स्वर्ण जित्दै प्रहरी टिम च्याम्पियन बनेको हो । पहिलो दिन बिहीबार ४ स्वर्ण जितेको प्रहरीले अन्तिम दिन पनि ४ स्वर्ण जितेको थियो ।

सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा त्रिभूवन आर्मी क्लब ६ स्वर्णसाथ दोश्रो र नेपाली एपीएफ क्लब ४ स्वर्णसाथ तेश्रो भएको थियो । विभागीय टोली बाहेक एउटा स्वर्ण मध्यमाञ्चलले जितेको थियो । उक्त स्वर्ण ४० केजीतर्फ मध्यमांन्चलकि जिया खड्किले जितेकि थिएन ।

प्रतियोगिताको पुरुषमा प्रहरीका रविन्द्र कार्की र महिलामा आर्मीकी कुसुम खड्का उत्कृष्ट खेलाडी चुनिए । रविन्द्रले ६० केजी तथा कुसुमले ४५ केजीमा स्वर्ण जितेका थिए । उत्कृष्ट भएवापत दुवैले समान १०–१० हजार, ट्रयाकसुट र सुट प्राप्त गरे ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, मुख्य प्रायोजक सम्झनाका उर्दिप जोशी, कराते महासंघका अध्यक्ष दावा गुरुङ र महासचिव हरिशरण केसीले पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका १ सय ८४ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।