डोभर, यूके । बेलायतमा पहिलोपटक सम्पन्न आदिवासी जनजाति महासंघको पहिलो राष्ट्रिय महाधिबेशनले श्रीप्रसाद लिम्बूको अध्यक्षतामा पहिलो कार्यसमिति चयन गरेको छ । शनिबार आशफोर्ड डोभरमा सम्पन्न भएको महाधिबेशनले लिम्बूको अध्यक्षतामा सर्वसम्मत उक्त कार्यसमति चयन गरेको हो । लिम्बूको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा नर बहादुर गुरुङ र महासचिवमा नरेश काङमाङ राई चयन भएकाछन् । कोषाध्यक्षचाहिँ उक्त कार्यसमतिको पहिलो बैठकले चयन गर्ने बताइएको छ । समितिका सदस्यहरुमा होम सुनुवार, रिपु लिङ्खा, गोम्बा शेर्पा, इन्द्र बहादुर दुरा, झक छन्त्याल चयन भएका छन् । बांकी सदस्यहरु नयां कार्यसमितिले चयन गर्नेछ । अध्यक्ष मण्डलका गणेश इजामले नयां कार्यसमितिको घोषणा गरेका थिए । अधिबेशनमा १० वटा जनजातिका संस्थाले भाग लिएको सहभागी धन घलेले बताएकाछन् ।
तदर्थ समितिका सभापति थर्क रानाको सभापतित्वमा भएको कार्यक्रम बिमला सुब्बाले सञ्चालन गरेकी थिईन् । कार्यक्रमको उदघाटन गर्दैसभापति रानाले आदिवासीहरुको एकतामा जोड दिएका थिए । उदघाटन कार्यक्रममा जनजातिको राष्ट्रिय गीत गाइएको थियो । कार्यक्रममा तदर्थ समितिका उपाध्यक्ष गंगादेवी राईले स्वागत मन्तव्य दिएकी थिईन् । सो अवसरमा सचिव धन घलेले संस्थाको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष होम सुनुवारले आर्थिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदन सर्वसममतले पास भएको थियो ।
निर्वाचनअघि विभिन्न प्रस्ताव उपर छलफल भई पारित भएको थियो । सो अवसरमा अधिबक्ता चण्डिराज राइले विधान सम्बन्धि प्रस्ताव पेश गरेका थिए । सो सम्बन्धि नयां कार्यसमितिले टुंगो लगाउने बताइएको छ । कार्यक्रममा याक्थुम चुम्लुङ्गका अध्यक्ष डम्मर लिम्बुले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराएका थिए । महाधिबेशन सफल पार्न बेलायतका विभिन्न क्षेत्रबाट आदिवासी जनजातीहरुको बाक्लो सहभागिता रहेको थियो ।-धन, तस्वीरसहित
प्रतिक्रिया