‘फ्रेन्च पदक’ धारण गरेपछि चन्द्रशमशेरको प्राणान्त

‘फ्रेन्च पदक’ धारण गरेपछि चन्द्रशमशेरको प्राणान्त


वि.सं. १९८६, तदअनुसार १९२९ ई. मा तिब्बत ल्हासास्थित नेपाली प्रतिनिधिहरूलाई तिब्बतीहरूले वास्ता राख्न छोडे । त्यति मात्र नभई त्यहाँका नेपाली नागरिकलाई अवहेलना गर्ने र समयसमयमा लुटपिटसमेत गर्न थाले । वि.सं. १९१२, तदअनुसार सन् १८५५ मा भएको ‘थापाथली सन्धि’को उल्लङ्घन गरी नेपाल सरकारलाई बुझाउनुपर्ने रकमसमेत नबुझाई वास्तै राख्न छोडेकाले श्री ३ चन्द्रलाई रोष उत्पन्न भयो । सन्धि उल्लङ्घन गरेको हुँदा श्री ३ चन्द्रले तिब्बतसँग युद्ध गर्ने चेष्टा गरे । यसका निमित्त ब्रिटिस–भारत सरकारसँग कारण देखाई हातहतियार खरिद गर्नको निमित्त लेखापढी गरे ।

तर, ब्रिटिस भारत सरकारका तर्फबाट भायसराय लर्ड इरविन (Viceroy Lord Irwin) ले हाम्रा निमित्त नेपाल सरकार र तिब्बत सरकार समानकै मित्रराष्ट्रहरू भएकाले हामीले तिब्बतलाई आक्रमण गर्नका लागि हातहतियार दिन तथा बेच्न मनासिव पर्दैैैैन, बरु मध्यस्थ भई कुरा मिलाइदिने कार्य गर्नेछौँ भन्ने जवाफ दिए ।

अब श्री ३ चन्द्रको आँखा खुली अति दुखित भए, साथै विरक्तिए । श्री ३ चन्द्रले वि.सं. १९६०, तदअनुसार १९०३ ई. मा ‘कर्णेल यड् हज्वेन्ड¬को नेतृत्वमा गएका ब्रिटिस प्रतिनिधिहरूको सहायता गरेको सपना देख्न थाले, अङ्ग्रेजको स्वार्थीपनले बल्ल उनलाई घोच्न थाल्यो, साथै आफ्नो गल्तीको आभास भई पोल्न थाल्यो । परम मित्रराष्ट्र ब्रिटिस सरकारले आफ्नो ठूलो अपमान गरेको अनुभव गरी पीर लिन थाले । उनले ब्रिटिस सरकारद्वारा यस्तो कोरा जवाफ र धोका पाउँला भन्ने कत्ति सोचेका थिएनन् तसर्थ उनलाई ठूलो प्रहार प¥यो, साथै बेइज्जती महसुस हुन थाल्यो । श्री ३ चन्द्रको मुख्य भित्री इच्छालाई ब्रिटिस सरकारले कुठाराघात गरिदियो ।

त्यस अवसरमा चीनमा भयङ्कर गृहयुद्ध चलिरहेको थियो । श्री ३ चन्द्रलाई पूरा विश्वास थियो कि तिब्बतसँग युद्ध गरेमा चीन सरकारतर्फबाट तिब्बत–भोटलाई सहायता पुयाउन असम्भव नै हुनेछ, तसर्थ तिब्बतसँगको युद्धमा अवश्य पनि नेपाल सरकारको विजय हुनेछ र जसरी बेलायतका बादशाहलाई भारतको सम्राट् भनिन्छ त्यस्तै श्री ५ महाराजाधिराजलाई तिब्बतको सम्राट् ‘Emperor of Tibet’ गराई आफूले त्यसको यश प्राप्त गर्ने सपना साकार नभएको हुँदा अर्को कुनै विकल्प नदेखी श्री ३ चन्द्रले अब फ्रान्ससँगबाट हातहतियार खरिद गर्ने इरादा लिई ‘कौशी सरकारी ढुकुटी’बाट वि.सं. १९८६ असोज÷कात्तिकमा अढाइ करोड रुपैयाँ झिकेर सो रुपैयाँ ‘मुख्तियार प्रधानसेनापतिका भाइ भीमशमशेरको जिम्मामा सुम्पे ।

यही अवसरमा श्री ३ चन्द्रलाई फ्रेच्च पदक प्रदान गर्न ब्रिटिस भारतका लागि फ्रेन्च राजदूत यही मार्ग २५ गते, तदनुसार दिसेम्बर ९ ता. १९२९ ई. का दिन काठमाडौं आइपुगे । भोलिपल्ट साँझ १० ता.का दिन फ्रेन्च राजदूतको सम्मानार्थ सिंहदरबारको बगैँचामा गार्डेन पार्टी (Green Party) को आयोजना गरी ती फ्रेन्चहरूको स्वागत गरी श्री ३ चन्द्रले ‘पार्टी’ सम्पन्न गरे । फलस्वरूप श्री ३ चन्द्र ‘डबल निमोनिया’ बाट पीडित भए ।

मार्ग २८ गते, तदअनुसार डिसेम्बर १२ ता.को शुभमुहूर्तमा हुनमानढोका गद्दी बैठकमा विशेष समारोहको आयोजना गरी ‘फ्रेन्च पदक’ लगाउने तर्जुमा भयो । उर्दी पुर्जी इत्यादि समेत सबै भइसकेको थियो, तर श्री ३ चन्द्रलाई उक्त रोगले ज्यादै–च्याप्दै लगेको हुँदा हनुमानढोका गद्दी बैठकमा सम्पन्न हुने कार्यक्रम स्थगित गरी सिंहदरबारमै हुमाउ–कल्ली–पगरी– जङ्गी पोसाक इत्यादि केही नलगाई बाक्लो दोलाईं मात्र ओढी सोही दोलाईंमै ‘जी.सी.एल.एच., G.C.L.H. Grand Croix-De-Le- Gion, –D’ Honnour नामक पहिलो दर्जाको फ्रेन्च पदक लगाए । सोही दिन श्री ३ चन्द्रको स्वास्थ्य ज्यादै बिग्री नबाँच्ने देखेर बबरशमशेरले श्री ३ चन्द्रसँग ठूलो–कान्छा बुबा (भीमशमशेर)कहाँ अढाइ करोड छ, सो रुपैयाँ लिन पठाउनुपर्ने हो कि भनी प्रश्न गर्दा, श्री ३ चन्द्रले जवाफमा ‘मैले तिमीहरूको निमित्त प्रशस्त सम्पत्ति जम्मा गरिदएको छु, अब मर्ने अवसरमा पनि तिमीहरूले यस अढाइ करोड रुपैयाँमा दाँत गाडी मलाई मुक्ति नदिलाउने प्रयासमा छौ’ भने ।

भोलिपल्ट फ्रेन्च राजदूत भारततर्फ प्रस्थान गरे । सोही दिन श्री ३ चन्द्रलाई साह्रो भई सिंहदरबारको दोस्रो चोकको बाहिर दक्षिण ढोकाको बायाँतर्फ सानो चौरमा माथिबाट त्यहाँ सारे । भोलिपल्ट वि.सं. १९८६ मार्ग ३० गते रोज ३ तदनुसार दिसेम्बर १४ ता. १९२९ ई. का दिन जम्मा २८ वर्ष ५ महिनासम्म नेपाल अधिराज्यको बागडोर आफ्नो हातमा लिई जम्मा ६६ वर्ष ५ महिनाको उमेरमा श्री ३ महाराज प्रधानमन्त्री मार्सल चन्द्रशमशेर जंगबहादुर राणा जी.सी.बी.सी, जी.एस.आई., थोङ लिन पिम्मा कोकाङ वाङ स्यानको मृत्यु भयो ।


(‘श्री ३ हरूको तथ्य–वृत्तान्त’बाट)