शिक्षा क्षेत्रमा काम गर्दै आएको अल्फा विटा कन्सल्टेन्सीले अल्फा विटा अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मंसिर ६ देखि ८ गतेसम्म शंखमूल फुटसलमा हुने जानकारी दिइएको छ ।
अल्फा विटाका अध्यक्ष द्विराज शर्माले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने लक्ष्यका साथ पहिलोपल्ट औपचारिक रुपमा खेलकुदमा प्रवेश गरेको बताए ।
सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दिपक विष्टलाई संयोजक तोकिएको छ । खड्काले लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा १६ देखि २० टिमको सहभागिता अपेक्षा गरिएको बताए ।
प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रोले ४० हजार नगद पुरस्कार पाउने छन् । नकआउट चरणदेखिको प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १ हजार नगद पुरस्कार दिइने छ । त्यस्तै सर्वोत्कृष्ट र सर्वाधिक गोलकर्ता खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।
यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिपक विष्टले खेलकुदमा निजी क्षेत्रको प्रवेशले खेलाडीलाई उत्साहित बनाउनुका साथै खेलकुद विकासमा समेत ठूलो टेवा पुग्ने धारणा व्यक्त गरे । उनले खेलकुदमा निजी क्षेत्रको लगानी प्रशंसनीय रहेको बताए ।
प्रतिक्रिया