दुधमा दिएको अनुदान रकममा बृद्धि गर्नुपर्ने चितवनका किसानहरुको माग

दुधमा दिएको अनुदान रकममा बृद्धि गर्नुपर्ने चितवनका किसानहरुको माग


दुधमा सरकारले दिएको लिटरका आधारमा प्रतिलिटर एक रुपैयाँ अनुदान रकममा बृद्धि गर्नुपर्ने किसानहरुले माग गरेका छन् । चितवनको भरतपुरमा आयोजना भएको भरतपुर महानगरस्तरीय दध क्षेत्र संरक्षण समिति चितवनले गरेको भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्रतिलिटर ५ रुपैयाँ अनुदान विना किसानको हित हुन नसक्ने भन्दै यस्तो माग गरेका हुन् ।

किसानले घाटामा ब्यवसाय गरेर नेपालमा पशुपालनको विकास पनि सम्भव नहुने भन्दै प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउन सके किसान पशुपालन ब्यवसायबाट बिस्तापित हुनु पर्ने अवस्था सृजना नहुने उनिहरुको भनाई छ ।

चितवनमा तीनसय वटा ब्यवसायिक फमहरु रहेको र त्यहाँबाट दैनिक तीनलाख लिटर दुध उत्पादन हुने गरेको तथ्याकं छ । भरतपुर महानगरस्तरिय दुध क्षेत्र संरक्षण समिति चितवनका अध्यक्ष भागिरथ तिमिल्सेनाले दुधमा अनुदान रकम बृद्धि गरे चितवनमा दुध उत्पादन यसको तीन गुणासम्म हुने र सरकारले दुध तथा दग्धजन्य परिकारमा आत्मनिर्भर बनाउन लिएको लक्ष्य पुरा हुने बताए ।

चितवनका किसानलाई दुध उत्पादनमा बृद्धि गराउने बातावरण तयार पार्न र महानगरलाई आगामी कार्यक्रमहरुमा किसानलाई थप उर्जा मिल्ने गरी बजेत बनाउन दवाव दिन पनि कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।

चितवनमा प्रतिलिटर १ रुपैयाँ अनुदान दिदाँ गत वर्ष मात्रै किसानले अनुदान बापत २ करोड ३८ लाख रकम पाएको र अनुदान रकम तथा पशुपालन विकासका कार्यक्रमहरुमा बिस्तार गर्दै लैजानुपर्ने जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. डिल्लिराम सेंढाईले बताए ।

सरकारले व्यवसायिक किसानलाई थप ब्यवसायिक बनाउन र पशु तथा दुध उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन पशु बिमा कार्यक्रमलाई व्यवस्थित गर्नुपर्ने, बैंक तथा मेसिनरीमा छुट गर्नुपर्ने, परियोजनाका आधारमा कर्जा सुविधा दिनुपर्ने राष्ट्रिय ब्यवसायिक पशुपालक तथा दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष आनन्द न्युरेले बताए ।

दाना चोक्कर र परालको मुल्यमा भारी बृद्धि, गुणस्तर हिन दानाको प्रयोग मेसिनरी खरिदमा चर्को मुल्य, काम गर्ने जनशक्तिको अभाव, उच्चस्तरीय पशु नशलको अभाव लगायतका धेरै समस्या किसानले भोग्नुपरेको र यी सबै समस्या समाधानमा राज्यले ध्यान दिन नसक्दा किसानहरु पलायन हुनुपर्ने अवस्था सृजना भएको दुग्ध सहकारी संघका पुर्व जिल्ला अध्यक्ष शंकरराज राजभण्डारीले बताए ।

राज्यले मेसिनरी उत्पादन र कच्चा पदार्थ आयातमा भ्याट रकम छुट गर्नसके किसानले सस्तोमा मेसिन खरिद गर्ने, त्यसले दुध उत्पादन लागत घट्ने र किसान तथा उपभोक्ता दुवैलाई फाईदा पुग्ने ह्वाईट हिमालयन इन्जिनियरिङ भरतपुरका प्रवन्ध निर्देशक तिलक शर्माले बताए ।

सो अवसरमा भरतपुर महानगरकी मेयर रेणु दाहालले किसानको समस्या समाधान गर्न महानगर किसानसंगै हातेमालो गरी अगाडी बढ्ने बताइन् ।