मार्सल आर्ट अर्गनाइजेसन नेपाल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडीहरुले आगलागीमा आफ्नो घर गुमाएका उसु स्वयंसेवक प्रशिक्षक शंकर भुजेललाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
मार्सल आर्ट अर्गनाइजेसनका अध्यक्ष राजिव महर्जन र काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रदीप बोगटीले भुजेललाई १ लाख ८६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
सहयोग रकममा ५० हजार मार्सल आर्ट अर्गनाइजेसन नेपालले उपलब्ध गराएको थियो ।
बाँकी रकम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडी, विभागीय टोलीका उसु खेलाडी, राखेपका उसु प्रशिक्षकका साथै काठमाडौं, ललितपुर र भक्तपुरका स्वयंसेवक उसु प्रशिक्षकहरुबाट संकलन गरिएको बताइएको छ ।
काभ्रेको पनौती निवासी भुजेलको घर गत असोज २ गते आगलागीका कारण ध्वस्त भएको थियो । सो अवसरमा नोभेम्बर १ देखि १० तारिखसम्म उसु खेलाडीलाई प्रशिक्षण दिएका इरानका उसु प्रशिक्षक कस्रा फोरोगहिफरलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया