काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई काउन्टर दिन गठन भएको बृहत मधेशी मोर्चा फुटेको छ । उपेन्द्र यादव, शरदसिंह भण्डारी लगायतका नेताहरुले मोर्चामा रहेका माओवादीका तीन नेतालाई कारवाही गरेपछि मोर्चा गठन भएको केही समयमा नै फुटेको हो । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी उपेन्द्र समूहले आचारसहिता उल्लंघन गरेको भन्दै माओवादी केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादव, प्रभु साह र रामकुमार शर्मालाई मोर्चाको सम्पूर्ण जिम्मेबारीबाट पदमुक्त गरिएको बताएको छ ।
यसअघि शर्मा लगायतका नेताहरुले कांग्रेस-एमालेसँग मिलेको भन्दै उपेन्द्र यादव र शरदसिंह भण्डारीलाई कारवाही गर्ने बताएका थिए । एक अर्कोलाई कारवाही गर्न प्रक्रिया शुरु भएपछि बृहत मधेसी मोर्चा विवादमा परेको छ । उपेन्द्र समूहले कारवाही गरेका माओवादी नेता शर्माले मोर्चाको गठन नै आफूहरुले गरेको भन्दै व्यक्तिवादी र अराजनितिक ढंगले कारवाहीको घोषणा गरेको बताए । ‘छायाँमा परिसकेको उपेन्द्र जीलाई हामीले नै अगाडी ल्याएका हौं । पटक पटक पार्टी फुटेपछि उहाँमा केही परिपक्कता आयो होला भन्ने लागेको थियो’ शर्माले अनलाइनखबरँग भन्नुभयो-तर उहाँ त अझै लाओकाँचो हुँदो रहेछ ।’-श्रोतः अनलाइन खबर
प्रतिक्रिया