पूर्व टेबलटेनिस खेलाडी भुवनदेव पन्त (बबी) को निधन भएको छ । उनको निधनमा नेपाल एमेच्योर भेट्रान एथलिट कमिटी र नेपाल भेट्रान टेबलटेनिस संघले एक कार्यक्रम आयोजना गरि श्रद्धान्जली प्रकट गरेका छन । पन्तको गत असोज ४ गते सिंगपुरस्थित जेनरल हस्पिटल नेपाल क्यान्सर सेन्टरमा उपचारका क्रममा निधन भएको थियो । टेबलटेनिसका जुनियर राष्ट्रिय च्याम्पियन स्व. पन्त कलेजोको क्यान्सरबाट पीडित थिए ।
काठमाडौंको पुतलीसडकमा २००१ सालमा जन्मिएका स्व. पन्त टेबलटेनिसका अलावा एथलेटिक्स, फुटबल र क्रिकेट पनि खेल्ने गर्थे । स्व. पन्तले थाइल्यान्डको बैंककमा १९६६ मा भएको पाँचौं एसियाली खेलकुदमा सहभागिता जनाएका थिए ।
संगीतमा पनि रुची राख्ने स्व. पन्तले चर्चित लोकगायक कुमार बस्नेतले गाएको ‘दिउला, यो जोबन तिमिलाई नै दिउला’ भन्ने गीतमा संगीत भरेका थिए ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, भेट्रान एथलिट कमिटीका अध्यक्ष जिएन दाई शर्मा, भेट्रान टेबलटेनिस संघकी अध्यक्ष नीनु सत्याल, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, पूर्व आईजीपी अच्युतकृष्ण खरेल, भेट्रान टेबलटेनिस खेलाडी, राष्ट्रिय टेबलटेनिस खेलाडीलगायतले स्व. पन्तको तस्वीरमा फुलमाला र पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा खेलकुद मन्त्री केसीले स्व. पन्तका छोरा विजयदेवलाई सम्वेदना पत्र हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया