काँग्रेसले आतंककारीलाई संरक्षण गरेको दाहालको दाबी

काँग्रेसले आतंककारीलाई संरक्षण गरेको दाहालको दाबी


माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पामा सो पार्टीका उम्मेद्वारमाथि भइरहेका हमला नेपाली काँग्रेसलाई सहयोग पुर्‍याउने नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको आरोप लगाएका छन् ।

चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार समेत रहेका दाहालले नेकपा आफ्नो निर्वाचन क्षेत्र शिवनगरमा हालै मात्र भाडामा लिएको घरमा सोमबार बिहान चितवनका सञ्चारकर्मीहरुसँग कुरा गर्दा नेता दाहालले सो कुरा बताएका हुन् ।

‘तिमीहरु आतंक मच्चाउ हामी चुनाबको प्रचारमा जान्छौं भनेर स्थानीय काँग्रेसले तालमेल गरेछन् । विप्लप (नेत्रबिक्रम चन्द) र काँग्रेसबीच तालमेल छ भन्ने हामीलाई पार्टीको तल्लो तहबाट रिपोर्ट पनि आइरहेको थियो । घटना क्रमले त्यही देखायो पनि’, दाहालले भने ।

‘विप्लप’का केही मान्छेहरु हतियारसहित समातिँदा रोल्पाबाट मन्त्री भएका काँग्रेस नेता अमर पुनले वक्तव्य निकालेर उनीहरुलाई छाडिदेउ भनेका कारण तालमेल भएको प्रष्टै भएको दाहालले बताए ।

‘हिँजो मंसिर ९ मा दुई पार्टीबीच एकता भन्ने समाचार एकाएक आएछ । त्यो साँचो हैन । कसरी आएछ बुझ्न पाएको छैन । गलत समाचार कहिले कहीँ भाइरल हुन्छ त्यस्तै हो त्यो समाचार । हामीले निर्वाचनपछि नै पार्टी एकता बारे ठोस निर्णय गर्नै भनेर उहिल्यै भनेका हौं । चुनाबअघि हैन’ दाहालले भने ।

‘यो काँग्रेसको केन्द्रीय नीति हो भन्ने आरोप पनि मेरो हैन तर मन्त्रीले नै यसो भनेपछि देशभरीका जनताले हेरिरहेका छन् । हामीले बाम गठबन्धन गर्दा अधिनायकवाद आउँछ भन्ने तर आफू चाहिँ क्रिमिनल एक्टिभीटी (आतंककारी कृयाकलाप) गर्नेलाई पनि साथ लिएर तालमेल गर्ने । यस्तो कामले काँग्रेस कसरी लोकतन्त्रवादी ? मेरो देउवाजीलाई अनुरोध छ यसलाई कन्ट्रोल गर्नुस’ दाहालले भने ।

विप्लबका कार्यकर्ताले काँग्रेसलाई भोट दिँदा आफ्नो कुनै आपत्ति नभएको तर बम गोली हानेर आतंक मच्चाउन नपाउने उनले बताए । ‘जनयुद्ध नै सुरु भयो भनेर चुनावका बेला यसो गरे पनि लौ पोलिटिकल्ली (राजनैतिक) नै आए भनेर भन्न सकिन्थ्यो। नभए बम बारुद पड्काउन पाइँदैन’ दाहालले भने ।

सो पार्टीका कार्यकर्ताहरु माओवादी केन्द्रमा आउन थालेपछि रिस पोख्न यसो गरेको उनले बताए । तर यसलाई राष्ट्रिय रुपमा नै चुनाबमाथि बढेको सुरक्षा चुनौतीका रुपमा भने आफूले नहेरेको दाहालाको भनाइ छ ।