राष्ट्रपति भण्डारी अबुधावीमा

राष्ट्रपति भण्डारी अबुधावीमा


संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा निस्कनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार साँझ अबुधाबी पुग्नुभएको छ । अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायव सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा त्यहाँको औपचारिक भ्रमणमा उहाँ हिजो सोमबार युएई प्रस्थान गर्नुभएको हो ।

अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई युएईका मानव संसाधन तथा अमिरातीकरण मन्त्री नासेर थानी अलहमेलीले स्वागत गर्नुभएको बताइएको छ। उहाँको स्वागतार्थ विमानस्थलमा युएईका लागि नेपालका कार्यबाहक राजदूत नेत्रबहादुर टण्डन तथा नेपाली दूतावासका अन्य अधिकारीहरू एवं युएईका शिष्टाचार अधिकारीहरुको पनि उपस्थिति रहेको राससले जनाएको छ । भ्रमणमा राष्ट्रपति भण्डारीका साथ आपूर्ति मन्त्री जयन्त चन्द पनि हुनुहुन्छ । यसैगरी उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा. मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनुभएको छ ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भइरहेको र आज मंगलबार राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तस्बिर रासस