एएफसी एसियन कप छनोट : आज नेपालले फिलिपिन्सको सामना गर्दै 

एएफसी एसियन कप छनोट : आज नेपालले फिलिपिन्सको सामना गर्दै 


एएफसी एसियन कप छनोट अन्तर्गत आज घरेलु मैदानमा नेपालले फिलिपिन्सको सामना गर्दै छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले आज अपरान्ह फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र फिलिपिन्सबिचको खेल अपरान्ह २ बजे सुरु हुने छ ।

एन्फाले नेपाल र फिलिपिन्सबिचको खेलको लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट मूल्य राखेको छ ।

एसियन कपको छनोटबाट बाहिरिसकेको नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ । तर, नेपालको लक्ष्य होम खेलमा फिलिपिन्सलाई रोक्ने रहेको छ । फिलिपिन्सविरुद्धको पहिलो खेलमा नेपाल उसैको मैदानमा ४ – १ ले पराजित भएको थियो ।

फिलिपिन्ससँगको खेलका लागि नेपाली टोलीमा दुई खेलाडीले पुनरागमन गरेका छन् । पछिल्लो दुई वर्षबाट टोलीमा नरहेका मिडफिल्डर जगजीत श्रेष्ठ नेपाली टोलीमा परेका छन् ।

जगजीत अष्ट्रेलियामा रहँदै आएका थिए । तर, उनी गत हप्ता नेपाल फर्किएका थिए । त्यस्तै, पछिल्लो खेलमा टोलीमा नरहेका स्ट्राइकर अनिल गुरुङले टोलीमा पुनरागमन गरेका छन् । ५० औं क्याप नजिक रहेका अनिलले मंगलबार नेपालको जर्सीमा मैदान उत्रँदै सन्यास लिनेछन्

। मंगलबार अनिलको ५० औं क्याप पुग्नेछ । छनोटको समूह एफमा रहेको नेपाल ४ खेलबाट १ खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै १ अंकसहित तालिकामा पुछारमा रहेको छ । फिलिपिन्सपछि नेपालले यमनसँग अवे खेल खेल्न बाँकी छ ।

समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउनेछन् । एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो ।

फिलिपिन्स समूहको शीर्ष स्थानमा रहेको छ । आज नेपाललाई पराजित गरे फिलिपिन्स पहिलोपटक एसिया कपको लागि छनोट हुने छ । फिलिपिन्सको ४ खेलबाट २ खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ८ अंक बनाएको छ । दोस्रो स्थानमा यमन रहेको छ ।

यमनको ४ खेलबाट एक खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ६ अंक छ । त्यस्तै तेस्रो स्थानमा रहेको ताजिकिस्तानको ४ खेलबाट २ खेलमा जित र २ खेलमा हारसहित ६ अंक रहेको छ ।