एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ४६ रनको झिनो चुनौति पाएको नेपालले ५.३ ओभरमा २ विकेटको क्षतिमा भेटाएको हो ।
नेपालको जितमा ओपनर अनिल कुमार शाहले २६ रन बनाए । उनले १५ बलमा ३ छक्का र एक चौका प्रहार गरे । नेपालका दिपेन्द्र १२ र आसिफ ४ रनमा आउट भए ।
मलेसियाको वायोमास ओभलमा भएको खेलमा नेपालले सामान्य चुनौति पाएको थियो । २४ ओभरमा छोट्याइएको खेलमा मलेसियाले १५.३ ओभरमा ४५ रन हुँदा सबै विकेट गुमाएको हो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान २–२ विकेट लिए । त्यस्तै, अनिल कुमार शाहले एक विकेट लिए ।
मलेसियाका ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात गरेको थियो । मलेसियाको ३३ रन हँुदा पहिलो विकेट गुमेको थियो । त्यसपछि मलेसियाका कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । मलेसियाका लागि सैद अजिज सैद मुबराकले २० र भिरन्दिप जग्जित सिंहले १० रन बनाएका थिए ।
एसिया कपको समूह ए मा रहेको नेपाल अन्तिम खेलमा मलेसियाविरुद्ध शानदार जित हात पार्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ ।
प्रतिक्रिया