अब आर्थिक समृद्धि र समाजवादबाहेक अर्को मेरो कुनै सपना छैन : प्रचण्ड

अब आर्थिक समृद्धि र समाजवादबाहेक अर्को मेरो कुनै सपना छैन : प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको युग विकास र समृद्धिको युग भएको बताएका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित हरैया चोकमा मंगलबार बिहान भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले आपूmले पनि विकास र समृद्धिकै परिकल्पना गरेको उल्लेख गरे।

दाहालले भने, ‘अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरें, त्यो विकास र समृद्धिप्रति कै संकल्प हो, आर्थिक समृद्धि र समाजवादबाहेक अर्को कुनै सपना छैन ।’

बिहानैदेखि चुनावी घरदैलोमा सक्रिय भएका चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले निर्वाचनपछि समाजवादको सपना देखेको दाबी गरे । उनी वाम गठबन्धनका संयुक्त उम्मेदवार हुन् ।

उनले उक्त कार्यक्रमसँगै बिहान यहाँको डेरी चोकमा वाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन गरेरे हरैया चोकमा चुनावीसभामा सरिक भएका थिए । सो क्रममा उनले राप्रपा छाडेर आएका झन्डै १०० जना कार्यकर्तालाई पार्टी प्रवेशसमेत गराएका थिए ।

चुनावी सभाका क्रममा दाहालले मतदातालाई किन्न खोज्नेहरुको पैसा कब्जा गर्न युवाहरुलाई अपील गरेका छन्। जनमतबाट अत्तालिएकाहरु जनतालाई पैसामा किन्न खोजेको आरोप लगाउँदै उनले पैसा बाँड्नेहरुलाई राष्ट्रको धन लुटेर देशमा भ्रष्टाचार बढाउने मान्छेको संज्ञा दिए ।

२३ कात्तिकदेखि चितवनमा दोस्रो चरणको चुनावी अभियानमा रहेका दाहालले मंगलबार साँझ आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै छन् । उनको प्रतिस्पर्धीमा कांग्रेसको समर्थनमा राप्रपा (प्रजातान्त्रिक) का नेता विक्रम पाण्डे पनि चुनावी अभियानमा सक्रिय छन्।