शहीद बनाउनेलाई भोट दिने कि शहीद बेच्नेलाई ?

शहीद बनाउनेलाई भोट दिने कि शहीद बेच्नेलाई ?


शहीद बनाउनेलाई भोट हाल्ने कि सहिदको रगत बेच्नेलाई ? धनुषा क्षेत्र नं. ३ का मतदातालाई यी दुई नराम्रामध्ये एक विकल्प रोज्नुपर्ने भएको छ । उम्मेदवारी दिनेहरू धेरै भए पनि यो क्षेत्रमा मूलतः नेपाली काङ्ग्रेसका विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुनेछ । स्थानीय सर्वसाधारणको ध्यान पनि यी दुईमै केन्द्रित देखिन्छ ।

निधि र महतोका चुनावी नारा पनि रोचक छन् । राजेन्द्र महतोका कार्यकर्ता मधेसी जनतालाई गोली हानेर शहीद बनाउने विमलेन्द्र निधि र उनको दल नेपाली काङ्ग्रेसलाई भोट हाल्न नमिल्ने सन्देश लेखिएका तुल–ब्यानर बोकेर मत मागिरहेका छन् । उनीहरूको तर्क छ– विमलेन्द्रलाई भोट हाल्नु भनेको सहिदको अपमान गर्नु हो, आन्दोलनकारी मधेसी जनताको अपमान हो । आन्दोलन दबाउनेलाई होइन, आन्दोलनकारीलाई भोट दिनुस् ।

यता निधिका कार्यकर्ताले राजेन्द्र महतोलाई भोट हाल्नु भनेको सहिदको रगत १ करोडमा बेचेर शहीदको अपमान गर्नेलाई भोट हाल्नु हो भन्दै त्यस्तालाई जिताउँदा वास्तविक मधेसीको हार हुने सन्देशका ब्यानरसहित प्रचार गरिरहेका छन् । धनुषा क्षेत्र नं. ३ मा अहिले राजपा समानुपातिककी उम्मेदवार नरमाया ढकाल निकै चर्चित छिन् । काङ्ग्रेसले तयार गरेका प्रचार सामग्रीमा प्रायः उनको नाम उल्लेख गरिएको छ । नरमाया ढकालहरूलाई १ करोड रुपैयाँमा समानुपातिक सिट दिन लागिएको र उक्त निर्णय राजेन्द्र महतोले गरेको कुरा भाषणहरूमा भन्ने गरिएको छ ।

यसअघि राजनीतिक वृत्तमा कहिल्यै नाम नसुनिएकी नरमाया ढकालको नाम एकाएक मधेसमा चर्चित बनेको छ । राजेन्द्र महतोको विरोधमा गरिने भाषण र कुराकानीमा उनको नाम जोडिएर आउँदा सर्वसाधारणले ‘यो नरमाया ढकाल भनेको को हो ?’ भनेर सोध्ने गरेका छन् । समानुपातिकको बारेमा खासै जानकारी र वास्ता दुवै नभएका कार्यकर्ताले राजेन्द्र महतोलाई ‘ए नरमाया के छ्यै ?’ (यी नरमाया को हुन् ?) भनेर सोध्दा राजेन्द्रले अहाँ कि मत्लब कौ ना छि (तिमीलाई मतलब भएको कुरा होइन) भन्ने जवाफ दिएका थिए ।

जसले जे भनेर मत मागे पनि मतको समीकरण जातीय छ । व्यापारीहरूको मत जहाँ गयो उसैले जित्ने अवस्था छ । ९७ हजार ५ सय मतदाता रहेको धनुषा क्षेत्र नं. ३ मा व्यापारीहरूको मात्रै ३० हजारको हाराहारीमा मत छ । सबै व्यापारीले सल्लाह गरेर एकै ठाउँ मतदान गर्ने भनिएकाले निधि र महतो यो एकमुष्ट मत कसरी लिने भन्ने प्रतिस्पर्धामा छन् ।

व्यापारिक मतसँगै वाम गठबन्धनको मत निर्णायक हुनेछ । जसरी भए पनि काङ्ग्रेस हराउने गठबन्धनको रणनीतिअनुरूप अन्त्यमा वाम भोट राजेन्द्र महतोलाई जाने सम्भावना पनि त्यत्तिकै छ । यता, विमलेन्द्र निधिप्रति विगतको तुलनामा धनुषामा व्यापक असन्तुष्टि छ । गृहमन्त्री हुँदा सिफारिस गरिएको तक्मामा धनुषाबाट ७ जना आफ्नै नातेदार र पारिवारिक सदस्यलाई पारिएको, आफैँले आफ्नो गृहजिल्लामा सरुवा गरेका प्रहरी, इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र आफ्नो अङ्गरक्षकलाई समेत तक्मा वितरण गरिएकोमा विमलेन्द्रप्रति धेरैको आक्रोश छ । गृहमन्त्री हुँदा प्रहरी महानिरीक्षक बनाउन नगद लिएर व्यक्तिविशेषको पक्ष लिएको आरोप पनि उनीमाथि छ । पूर्वराष्ट्रपति रामवरण यादव पक्षधरलाई पाखा लगाएर जिल्लामा गुटबन्दी गरेकोमा स्थानीय काङ्ग्रेसीहरू नै विमलेन्द्रसँग असन्तुष्ट छन् । राजेन्द्र महतोसँग प्रतिस्पर्धा भए पनि निधिको स्थिति रक्षात्मक देखिएको छ ।