शृंखलाबद्ध आक्रमणपछि ३२ जिल्लाको सुरक्षा व्यवस्था कडा

शृंखलाबद्ध आक्रमणपछि ३२ जिल्लाको सुरक्षा व्यवस्था कडा


पछिल्लो समय उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण भएपछि सरकारले ३२ जिल्लाको सुरक्षा व्यवस्था कडा पार्दै लगेको छ ।

उम्मेदवारको सुरक्षा र पहिलो चरणको निर्वाचन आउन ११ दिन मात्र बाँकी रहँदा निर्वाचन हुने ३२ जिल्लाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।

छिटपुट रुपमा केही समुहले आफ्नो अस्तित्व देखाउन निर्वाचन विरोधी गतिविधि गरिरहेपनि सुरक्षा अपस्था पुर्णतः नियन्त्रणमा रहेको मन्त्रालयको दावी छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले निर्वाचनका लागी मजबुत सुरक्षा आधार तयार पारिएको भन्दै उम्मेदवार र मतदान केन्द्रको सुरक्षामा कुनै कसर बाँकी नराखेको दावी गरेका छन् ।

उनका अनुसार चुनाव हुने जिल्लामा प्राप्त रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने जिल्ला, क्षेत्रीय स्तरका सुरक्षा संयन्त्रलाई चुनावी सु्रक्षा योजना कडा रुपमा लागू गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

शृंखलाबद्ध आक्रमण

  • २४ कात्तिक :   पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि बम प्रहार
  • २५ कात्तिक :  पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि बम प्रहार
  • २६ कात्तिक  : वर्षमान पुनमाथि दोस्रो आक्रमण
  • २८ कात्तिक  :  भोजपुरमा पूर्वसञ्चारमन्त्री तथा एमाले नेता शेरधन राईमाथि बम प्रहार
  • २८ कात्तिक  : संखुवासभामा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र गौतम र पूर्णप्रसाद राई लक्षित बम

उम्मेदवारमाथि पछिल्लो समय बढिरहेको आक्रमणका घटनालाई ध्यानमा राखेर गर्दै मन्त्रालयले सुक्ष्म रुपमा सुरक्षा टोली परिचालन गरिएको उनको भनाई छ ।

यस्ता कार्यमा संलग्नमाथी कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको भन्दै प्रवक्ता शर्माले त्रुटिरहित मतदान सम्पन्न गर्न सुरक्षा निकाय सक्षम रहेको जिकिर गरे । हरेक जिल्लामा उम्मेदवारको सुरक्षा अवस्था विश्लेषण गरी उनीहरुको सुरक्षामा विशेष ध्यान दिन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको शर्माको भनाई छ ।

गृह मन्त्रालयले निर्वाचनका लागि तीन तहको सुरक्षा प्रबन्ध मिलाईएको भन्दै मतदातालाई ढुक्क भएर निर्वाचनमा भोट खसाल्ने अवस्था सृजना गर्न सुरक्षा निकाय लागि परेको जनाएको छ ।

पछिल्लो समय पूर्व गृहमन्त्री जनार्दन शर्मा, पूर्व अर्थमन्त्री वर्षामान पुन, पूर्व संचारमन्त्री शेरधन राई लगायतलाई लक्षित गर्दै बम प्रहार भएपछि सरकारको चुनावी सुरक्षामा प्रश्न खडा भएको थियो ।