चुनावी मैदानमा अहिलेसम्म एमाले नै अगाडि : कछुवा गतिमा अघि बढ्दै काङ्ग्रेस

चुनावी मैदानमा अहिलेसम्म एमाले नै अगाडि : कछुवा गतिमा अघि बढ्दै काङ्ग्रेस


निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन हुने या नहुने भनी उत्पन्न आशङ्का कम हुँदै गएको छ । कुनै ठूलो र अप्रत्यासित घटना भएन भने मङ्सिर १० र २१ गते शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने निश्चित भएको छ । यसअघि अदालतको कुनै निर्णयका कारण चुनावलाई प्रतिकूल असर पर्ने हो कि भन्ने ठानिएको थियो भने हिमाली क्षेत्रको मौसमका कारण पनि चुनाव हुनेमा आशङ्का थियो । कम्युनिस्ट गठबन्धनका नेताहरूले चाहिँ आफूहरूले जित्ने भएका कारण सत्तारुढ काङ्ग्रेस र विदेशी शक्ति केन्द्रहरूले कुनै न कुनै निहुँ बनाएर चुनाव रोकिदिने हुन् कि भन्ने आशङ्का व्यक्त गर्ने गरेका थिए । उनीहरूमा अझै पनि त्यसप्रकारको शङ्का र त्रास कायम रहेको देखिन्छ ।

तर, गैरकम्युनिस्ट कित्ताले जस्तोसुकै परिणाम हासिल भए पनि चुनावबाट पछि नहट्ने मानसिकता बनाइसकेका छन् र उनीहरूले निर्वाचन परिणाम कम्युनिस्टहरूले विश्वास र विश्लेषण गरेझैँ प्रजातान्त्रिक गठबन्धनका निम्ति प्रतिकूल हुने पनि ठानेका छैनन् । स्थानीय निर्वाचनमा एमाले र माओवादीले पाएको मत जोडेर कम्युनिस्ट गठबन्धनले जसरी आफ्नो विजयको सुनिश्चितता देखेको छ, काङ्ग्रेस नेतृत्व भने स्थानीय चुनावमा झैँ मत विभाजन नहुने, बरु त्यसबेला नआएको मत पनि काङ्ग्रेसलाई प्राप्त हुने मनोविश्लेषण र विश्वास गर्दै छ । नेकपा एमाले एक्लैले सत्तरीदेखि असी स्थानमा विजय हासिल गर्ने विश्लेषण गरेको छ भने माओवादीले करिब बीस स्थानमा आफूहरू विजयी बन्न सक्ने ठानेको छ । तर, आफ्नो पार्टीलाई कति स्थान प्राप्त हुन सक्छ भन्ने विषयमा नेपाली काङ्ग्रेसले कुनै अनुमान, विश्वास र विश्लेषण गर्न सकेको छैन ।

तथापि काङ्ग्रेसका कतिपय नेताहरूले तीन दर्जनभन्दा बढी स्थानमा काङ्ग्रेस विजयी बन्न सक्ने ठानेका छन् । राप्रपा प्रजातान्त्रिकले चार र कलम थापा नेतृत्वको राप्रपाले दुई स्थानमा विजय हासिल गर्ने विश्वास गरेको पाइएको छ । त्यस्तै, राजपा र फोरम बढीमा अठार स्थानमा विजयी बन्न सक्ने देखिएको छ । अहिलेसम्मको चुनावी स्थिति अवलोकन गर्दा कम्युनिस्ट गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न सक्ने देखिएको भए पनि नेपाली काङ्ग्रेसले सुस्त गतिमा परिस्थिति आफूअनुकूल बनाउन खोज्दै छ । जुन गतिमा काङ्ग्रेसले प्रगति गर्न खोज्दै छ, त्यस आधारमा हेर्दा नेपाली काङ्ग्रेस देशको सबभन्दा ठूलो दल बन्न असमर्थ रहे पनि भारतको काङ्ग्रेसझैँ लज्जास्पद स्थितिमा नपुग्ने विश्वास गर्न सकिन्छ ।

काङ्ग्रेसले शेरबहादुर देउवा (डडेलधुरा), पूर्ण खड्का (सुर्खेत), डा. शशाङ्क कोइराला (परासी), डा. शेखर कोइराला (मोरङ), शिवराज जोशी (दैलेख), हस्तबहादुर मल्ल (मुगु), राजेन्द्रबहादुर शाह (सल्यान), सुशीला चौधरी (दाङ), राजु थापा (स्याङ्जा), वीरबहादुर बलायर (डोटी), अजय चौरसिया (पर्सा), गगन थापा (काठमाडौं), दीपक कुइँकेल (काठमाडौं), राजन केसी (काठमाडौं), भीमसेनदास प्रधान (काठमाडौं), प्रकाशमान सिंह (काठमाडौं), डा. प्रकाशशरण महत (काठमाडौं), मोहनबहादुर बस्नेत (सिन्धुपाल्चोक), डा. रामशरण महत (नुवाकोट), डा. शेखर कोइराला (मोरङ), दिलमान तामाङ (धादिङ), दिनेश यादव (सप्तरी), तेजुलाल चौधरी (सप्तरी), रामकृष्ण यादव (धनुषा), जंगीलाल राय (सर्लाही), डा. अमरेशकुमार सिंह (सर्लाही), मोहम्मद आफताव आलम (रौतहट), फर्मुल्लाह मन्सुर (बारा), चन्द्र महर्जन (ललितपुर), रामचन्द्र यादव (बारा), देवप्रसाद तिमिल्सिना (रौतहट), रामचन्द्र पौडेल (तनहुँ), शङ्कर भण्डारी (तनहुँ), चन्द्र भण्डारी (गुल्मी), दमननाथ ढुङ्गाना (भक्तपुर), एनपी साउद (कञ्चनपुर) र रमेश लेखक (कञ्चनपुर) प्रतिनिधिसभा सदस्यमा विजयी बन्न सक्ने विश्वास गरेको छ । त्यस्तै झापामा विश्वप्रकाश शर्मा, नुवाकोटमा अर्जुननरसिंह केसी, पर्सामा रमेश रिजाल, काठमाडौंमा नवीन्द्रराज जोशी, बर्दियामा सञ्जय शर्मा, ललितपुरमा मदन अमात्य र प्युठानमा गोविन्द पोखरेल विजयी बन्न सक्ने आशा पनि काङ्ग्रेसभित्र भएको पाइएको छ ।

यसरी एमाले, काङ्ग्रेस र माओवादीलगायतका दलहरूले विभिन्न अनुमान तथा विश्लेषण गरिरहेका भए पनि आगामी एक सातापछि मात्र कसको, कहाँ कस्तो स्थिति हुने भन्ने विश्वास र विश्लेषण गर्न सकिने देखिएको छ ।