प्रचण्ड–बाबुरामलाई निष्कासन गरिने

प्रचण्ड–बाबुरामलाई निष्कासन गरिने


वैद्य पक्षको भेलाले ऐतिहासिक निर्णय लिने
लामो समयदेखि भिन्न विचार समूहको रूपमा क्रियाशील रहँदै आएको नेकपा माओवादीको मोहन वैद्य समूह असारको पहिलो सातादेखि छुट्टै राजनीतिक दलको रूपमा अस्तित्वमा आउने भएको छ । तर, वैद्य खेमाले यसलाई नेकपा माओवादीको पुनर्संरचना या पुनर्गठनका रूपमा परिभाषित गर्ने बताइएको छ । वैद्य पक्षले पार्टी पुनर्गठन गरी ठोस कार्यदिशा तय गर्न असारको २, ३ र ४ गते राजधानीमा विशेष भेलाको आयोजना गरेको छ । भेलामा देशभरिको तेह्र राज्य समितिका दुई हजारभन्दा बढी प्रतिनिधि सदस्यलाई सहभागी गराइने बुझिएको छ । भेलामा पार्टीको कार्यदिशाबारे व्यापक छलफल गरी ठोस नीति तय गर्ने सोच सम्बद्ध पक्षले बनाएको छ । यसअघि पार्टीले शान्ति र संविधानमा जोड दिने र उक्त कार्य हुन नसके जनविद्रोहमा जाने कार्यनीति तर्जुमा गरेको थियो । प्रचण्ड–बाबुरामले तर्जुमा गरेको उक्त कार्यनीति असफल भएको निष्कर्ष निकाल्दै वैद्य समूहले नयाँ र ठोस कार्यनीति बनाउन आवश्यक भएको बताएको छ । प्रचण्ड–बाबुरामको शान्ति र संविधान निर्माणको कार्यनीति असफल भएको र उनीहरू जनविद्रोहमा पनि जान सक्ने अवस्था नरहेकोले भेलाले प्रचण्ड–बाबुरामलाई दक्षिणपन्थी, अवसरवादी र प्रतिक्रियावादीमा रूपान्तरित भएको निष्कर्ष निकाल्दै पार्टीबाट निष्कासन गर्ने तयारी भएको बुझिएको छ । भेलाले सेना, सरकार र मोर्चा निर्माणबारे पनि गम्भीर छलफल गरी निर्णय लिने बताइएको छ । एक सूत्रले जनाएअनुसार भेलाले ‘जनसेना’ गठन गरी सशस्त्र सङ्घर्षमा जाने मार्ग तय गर्नेछ, तर, तत्कालै सशस्त्र सङ्घर्षमा जाने सोच भने उनीहरूले बनाएका छैनन् । तत्कालका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरी संविधान निर्माण आयोग गठन गर्ने र सर्वपक्षीय सरकार बनाएर आमचुनावमा जाने धारणा वैद्य पक्षले बनाएको छ । उनीहरू पुन: संविधानसभाको निर्वाचन गराउने कुरासँग सहमत छैनन् । व्यवस्थापिका संसद्कै निर्वाचनमा उनीहरूको जोड रहेको छ । भेलाले पनि नेतृत्वले निर्माण गरेको यही धारणालाई अनुमोदन गर्न सक्ने देखिएको छ । वर्तमान सरकारको विस्थापन हुनुपर्ने माग प्रस्तुत गर्दै आएको मोहन वैद्य पक्षले सशक्त जनसङ्घर्षमार्फत उचित निकास खोज्ने योजना बनाएको बुझिन्छ । बाबुराम भट्टराईलाई प्रधानमन्त्री पदबाट हटाउन सशक्त जनसङ्घर्षको कार्यक्रम गरिने पनि उनीहरूले बताएका छन् ।
भेलाले कार्ययोजना तर्जुमा गरेपछि पार्टी केन्द्रीय समिति पनि पुनर्गठन गर्ने बताइएको छ । पार्टीको केन्द्रीय समितिलाई बहुपदीय बनाइने र प्रचण्डलाई अध्यक्षबाट निष्कासन गरेपछि रिक्त हुन आएको पदमा मोहन वैद्य किरणलाई चयन गरिने भएको छ । पार्टीको वरिष्ठ उपाध्यक्षमा रामबहादुर थापा बादल, उपाध्यक्षमा सीपी गजुरेल र देव गुरुङ, महासचिवमा नेत्रविक्रम चन्द विप्लव, सचिवमा पम्फा भुसाल चयन हुनुहुने सम्भावना छ । प्रचण्डसँग असहमति जनाउँदै पार्टीबाट अलग्गिएका नेताहरू मातृका यादव र मणि थापालाई पनि पदाधिकारीका रूपमा सामेल गराउने तयारी भइरहेको छ । त्यसनिम्ति सचिवको पद सङ्ख्या आवश्यकताअनुसार बढाइने बताइएको छ ।
प्रचण्ड–बाबुरामलाई ‘कारबाही’ गर्न आयोजित उक्त भेलाको निम्ति चन्दा सङ्कलन सुरु गरिएको छ । चन्दा सङ्कलनका निम्ति नेताहरू मोहन वैद्य किरण र रामबहादुर थापा बादलद्वारा हस्ताक्षरित अपिल–पत्र विभिन्न सङ्घ–संस्था तथा व्यापारिक घराना र व्यक्तिहरूलाई पठाउन थालिएको छ । भेलामा करिब डेढ करोड रुपैयाँ खर्च हुनसक्ने अनुमान सम्बद्ध पक्षले गरेको छ । -Source:Ghatanarabichar