गृहको पत्र गायब भएपछि…

गृहको पत्र गायब भएपछि…


‘आईजी’को दाबी गर्दागर्दै डीआईजी ओहोदाबाटै बिदा हुन बाध्य भएका नेपाल प्रहरीका निवर्तमान डीआईजी नवराज सिलवाल यतिबेला एमालेको टिकटबाट प्रतिनिधिसभा सदस्यको चुनाव लडिरहेका छन् । ललितपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवार रहेका सिलवाल प्रहरी महानिरीक्षकको जिम्मेवारी आफँैले पाउनुपर्ने भनी सर्वोच्च अदालतमा दिएको मुद्दा हारेपछि सङ्गठनबाटै राजीनामा दिएर राजनीतिमा लागेको जगजाहेर छ ।

तर, प्रहरी नायव महानिरीक्षकबाट राजीनामा दिएर हिँडे पनि सिलवालको ‘राजीनामा प्रकरण’ले यतिबेला फेरि पुलिस हेडक्वार्टरमा खलबली मच्चाएको बुझिएको छ ।

प्रहरी सूत्रका अनुसार सिलवालको राजीनामा स्वीकृत गरेर गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पठाएको जानकारी पत्र नै गायब भएको छ । मुद्दा हारेका नवराजलाई सान्त्वना दिन एमाले अध्यक्ष केपी ओलीले ‘गृहमन्त्री’ नै बनाइदिने सार्वजनिक अभिव्यक्ति दिए । ओली–अभिव्यक्तिबाट हौसिएका सिलवालले पनि दायाँबायाँ केही नहेरी तत्काल ओहोदाबाट राजीनामा दिएका थिए । उनको राजीनामा गृहले स्वीकृत पनि ग¥यो र नियमानुसार स्वीकृतिपत्र प्रहरी प्रधान कार्यालय पठायो । उक्त पत्र गृहबाट हेडक्वार्टर पुग्दानपुग्दै गायब पारिएको खुलासा यतिबेला आएर भएको छ ।

नवराजले छोडेपछि नियमतः उक्त स्थान खाली हुन आउने र रिक्त स्थानमा कुनै एक एसएसपीले बढुवा पाउनुपर्ने थियो । तर, गृहले पठाएको पत्र नै गायब पारिएपछि सो कोटा एकातिर हालका लागि त्यत्तिकै ‘बेपत्ता’ भएको छ भने अर्कोतिर सांसद बन्न ललितपुरमा भोट माग्दै गरेका नवराज सिलवाल अझै डीआईजी पदका कायम रहेको अर्थ लाग्न पुगेको छ ।

बताइएअनुसार प्रहरी प्रशासनमा भएको यो लापरबाही पहिलो होइन । यसअघि पनि यस्ता बेथिति पटक–पटक भएका छन् । जहाँसम्म गृहले प्रहरी प्रधान कार्यालय पठाएको सिलवालको राजीनामा जानकारी–पत्र हराएको सवाल छ, कसले कुन नियतले पत्र गायब गरेको हो रहस्यपूर्ण तथा खोजीको विषय बन्न पुगेको छ ।