बाबुरामलाई हराउन उपेन्द्र समेत गोरखामा

बाबुरामलाई हराउन उपेन्द्र समेत गोरखामा


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग गोरखा–२ मा प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भट्टराई शैक्षिक प्रतिस्पर्धी डा उपेन्द्र देवकोटाकोे साथ पाएका छन् । डा देवकोटा बुधबार विहान ओलीसँगै गोरखा पुगेका हुन् ।

गोरखा–२ मा उमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भएका सभाहरुमा डा देवकोटाले पनि श्रेष्ठका पक्षमा मत मागेका छन् ।

गोरखा–२ को भच्चेकमा एमाले–माओवादी केन्द्रको चुनावी सभा सुरु भएको छ । त्यहाँ पुगेका ओली र प्रचण्डसँगै डा देवकोटा मञ्चमा देखिएका छन् ।

डा. भट्टराई र डा देवकोटा दुवैले २०२६ मा सँगै एसएलसी दिएका थिए । नतिजामा भट्टराई ‘बोर्डफष्ट’ भए भने देवकोटा बोर्डमा पाँचौं नम्बरमा परेका थिए ।

डा. भट्टराई इन्जिनियरिङ र राजनीतिमा चर्चित भए भने देवकोटा चिकित्सा क्षेत्रमा सकृय छन् । गोरखाको सामाजिक–राजनीतिक क्षेत्रमा डा भट्टराईको जत्तिकै पकड डा.देवकोटाको पनि रहेको मानिन्छ ।

डा. देवकोटाको साथ पाएपछि भट्टराईसँगको कठिन प्रतिस्पर्धामा श्रेष्ठलाई केही राहत पुगेको माओवादीका कार्यकर्ताहरू बताउँछन् ।