आरजुको क्षेत्रमा बेग्लै रमाइलो !

आरजुको क्षेत्रमा बेग्लै रमाइलो !


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र पूरा राणा खानदानको प्रतिष्ठाको विषय बनेको कैलाली क्षेत्र नं. ५ की उम्मेदवार आरजु राणा देउवाप्रति सिङ्गै मुलुकको ध्यानाकर्षण भएको छ । साधारण ग्रामीण पहिरनमा कैलालीको गाउँ–गाउँ डुल्दै गरेकी आरजुलाई कतिपयले ‘टुरिस्ट उम्मेदवार’ भनेर जिस्क्याएपछि कैलालीको स्थायी बासिन्दा हुने झोंक चलाउँदै उनले कैलालीमा रु. पाँच करोड हालेर एउटा बंगला नै खरिद गरिदिएकी छिन् । पाँच करोड वास्तविक मूल्य भएको घर तीन करोडमा खरिद गरेको देखाइएको भन्दै यतिखेर आरजुका आलोचकहरूले ठूलो मुद्दा बनाइरहेका छन् । आरजु चुनाव जिते मात्र कैलालीमा बसोवास गर्लिन् कि पराजित भए पनि बस्लिन् भन्ने प्रश्न कैलालीवासीले गरिरहेका छन् । त्यस्तै कतिपयले चाहिँ आरजु एक्लै कैलालीमा बसोवास गर्लिन् या शेरबहादुर देउवालाई समेत कैलालीमै राख्लिन् भन्ने प्रश्न गरेर आरजु राणाको खिल्ली उडाउने गरेको पाइएको छ ।

आरजु राणाका विरुद्ध वाम गठबन्धनको तर्फबाट नारदमुनी राना थारूको उम्मेदवारी परेको छ । उक्त निर्वाचन क्षेत्रमा तीस हजार राना थारू र दश हजार दङ्ग थारूहरूको बसोवास रहेको छ । त्यस्तै कैलाली काङ्ग्रेसका ब्राह्मण नेताहरूलाई विश्वासमा लिन पनि आरजुले अहिलेसम्म सकेकी छैनन् । पुष्कर ओझा कैलाली काङ्ग्रेसका लोकप्रिय नेता मानिन्छन् । आरजुको उम्मेदवारीको समयमा ओझा देखा परेनन् भने अहिले पनि उनी मौन बसिरहेको बताइन्छ । आरजु राणालाई मतदाताहरूले ‘धनको पोको’का रूपमा व्यवहार गरिरहेका छन् र आरजुले पनि ‘सुनवर्षा’ गराएकै शैलीमा नगद खर्च गर्ने गरेको बताइन्छ । तर, नगद बुझ्नेहरू सबैले आरजुलाई मतदान गर्ने विश्वास भने गरिएको छैन ।

पहिले बर्दियाबाट चुनाव लड्ने तयारी गरिरहेकी आरजु राणाले बर्दियालाई तीन क्षेत्रमा विभाजित गर्ने सफलता प्राप्त नभएपछि उनी कैलालीतर्फ लागेकी हुन् । कैलाली पुगेपछि आरजुले सुदूरपश्चिमलाई सुनको टुक्रा बनाइदिने घोषणा गरेकी छिन् । उनको यस्तो अभिव्यक्तिलाई पनि स्थानीय बासिन्दाले ‘सुनको टुक्रा बनाए हामीले कहाँ खेती गरी खाने’ भन्दै खिल्ली उडाएका छन् ।