‘कांग्रेसबाट देउवा अन्तिम प्रधानमन्त्री, चुनावलगत्तै कम्युनिस्ट शासन’

‘कांग्रेसबाट देउवा अन्तिम प्रधानमन्त्री, चुनावलगत्तै कम्युनिस्ट शासन’


वाम गठबन्धनका शीर्ष नेता केपी ओली र पुष्पकमल दाहालले चुनावलगत्तै देशमा कम्युनिस्ट शासन आउने दाबी गरेका छन् । गोरखा क्षेत्र नं. २ को पालुङटारमा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनले बुधबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले यस्तो बताएका हुन् ।

अहिले दुई पार्टीबीच चुनावी तालमेल गरेको उल्लेख गर्दै चुनावलगत्तै एकता हुने उनीहरुको भनाइ छ । ‘चुनावलगत्तै नेपालमा कम्युनिस्ट शासन आउँछ, शेरबहादुर देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री हो’सभामा एमाले अध्यक्ष ओलीले भने, ‘बीपी र गणेशमानको पालाको कांग्रेस छैन ।

बूढो रुख कांग्रेस ढल्यो ।’ कम्युनिस्ट शासन देश विकास र समृद्धिको लागि भन्दै ओलीले कांग्रेसले हल्ला गरेजस्तो तानाशाही व्यवस्था नभएको प्रस्ट पारे । उनले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति लक्षित गर्दै बूढो रुखको आडमा लागेको आँखाको कुनै सम्भावना नभएको बताए ।

उनले कांग्रेस समर्थित गोरखा २ का उम्मेवदार बाबुरामको चुनाव चिह्नलाई ‘नक्कली आँखा’सँग तुलना गरे । भट्टराईप्रति लक्षित गर्दै ओलीले भने, ‘नाम लिनु पर्दैन बबुरा भने पुग्छ । कर्कलोलाई बञ्चरो चलाउन आवश्यक छैन ।’उनले नेपालमा वामपन्थी आँधी आएको भन्दै यसबाट कांग्रेसहरुलाई रातभरि निद्रा लाग्न छाडेको टिप्पणी गरे ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले कार्यक्रममा सहभागी हेरेपछि आफ्नो चिन्ता हटेको बताए । उनले भने, ‘तपाईहरुको उपस्थितिले मेरो टेन्सन साफ भो । यहाँ नारायणकाजीजीको जित र बाबुराम हार्ने निश्चित भइसक्यो ।’बाबुराम भट्टराईले पार्टीमात्रै होइन, कसम र सिद्धान्त छाडेको भन्दै दाहालले भट्टराईसँग भोट माग्ने कुनै नैतिकता नरहेको टिप्पणी गरे ।