खोसिँदै, जलाइँदै निर्वाचन सामग्री

खोसिँदै, जलाइँदै निर्वाचन सामग्री


मतदाता शिक्षाको लागि विभिन्न जिल्ला पुर्याइएका निर्वाचन सामाग्री खोसेर जलाउने कार्यलाई नेकपा (विप्लव)का कार्यकर्ताहरुले तीव्रता दिएका छन् । विप्लव माओवादीको भाषामा चाहिँ निर्वाचन सामग्री ‘स्थानीयले कब्जामा लिएर जलाएका’ हुन् ।

दाङको तुल्सीपुर पिपलबोट नजिक बसपार्कमा हिजो बुधबार माओवादी कार्यकर्ताले निर्वाचन सामग्री जफत गरेर जलाएका छन् भने गत मंगलबार पनि दाङकै गढवा खैरामा निर्वाचन सामाग्री खोसेर च्यातिएको घटना प्रकाशमा आएको थियो । निर्वाचन सामाग्री बोकेर हिँडिरहेका स्वयमसेविकाबाट निर्वाचन सामग्री खोसेर विप्लवका कार्यकर्ताले च्यातिदिएका थिए।

यसैगरी रोल्पामा पनि हिजो बिहान निर्वाचन सामाग्रीहरु खोसेर जलाइएको छ । रोल्पाको सुनछहरी गाउँपालिका १, घुसबाङमा बुधबार बिहान करिब साढे १० बजेतिर निर्वाचन सामाग्री नियन्त्रणमा लिई जलाइएको थियो भने रुकुममा पनि निर्वाचन सामाग्री जलाइएको छ ।

उता कर्णालीको जुम्लाको सिँजामा पनि निर्वाचन सामाग्रीहरु कब्जामा लिएर स्थानीयले जनाएका नेकपाले दाबी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) का कार्यकर्ताले सिंजा गाउँपालिका–२ रनुखानागाउँबाट मतदाता शिक्षा सामग्री खोसेका कुरालाई सरकारी सञ्चारमाध्यमले समेत बुधबार महत्वका साथ प्रसार गरेको थियो ।

बताइएअनुसार जुम्लाको रोपनी जनजागृति प्रावि रनुखाना धापा मतदान केन्द्रका मतदातालाई मतदाता शिक्षा दिन जाँदै गर्दा नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामग्री खोसेर लगेका थिए । निर्वाचन शिक्षा सहजकर्ता राधा श्रेष्ठलाई उद्धृत गर्दै बताइएअनुसार बाटोमा हिँडिरहेको बेला एक्कासि पाँच-छ जना आएर मतदाता शिक्षा सामग्री दिनुस् भन्दै हातबाट खोसेर लगेका थिए ।