चिनियाँ कम्पनी गेजुवालाई पठाइयो सम्झौता रद्दको पत्र !

चिनियाँ कम्पनी गेजुवालाई पठाइयो सम्झौता रद्दको पत्र !


सरकारले चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी सम्झौता रद्दको पत्र पठाएको छ ।

ऊर्जा मन्त्रालयले चीनको गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिने विगतको समझदारी रद्द भएको गरिएको जानकारी पत्र मार्फत पठाएको हो ।

मन्त्रालयका एक अधिकारीले गेजुवासँग भएको समझदारी रद्द गरिएको पत्र पठाएको बताए । ‘समझदारी रद्द भएको पत्र मंगलबारै पठाएका हौं,’ उनले भने, ‘सरकारले गरेको पछिल्लो निर्णयको जानकारीसहित रद्द भएको पत्र पठाइएको हो ।’

१ हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त उक्त आयोजना ‘अनियमित’ र ‘हचुवा’ ढंगले सिजिजिसीलाई दिएको ठहर गर्दै सोमबारको मन्त्रिपरिषद बैठकले निर्णय रद्द गरेको थियो ।

बूढीगण्डकी आयोजना सिजिजिसीलाई दिने निर्णय माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको थियो जतिखेर अहिले सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस पनि सरकारमा थियो ।

सिजिजिसीलाई बूढीगण्डकी दिने निर्णयपछि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पनि उक्त आयोजना बिनाप्रतिस्पर्धा सुटुक्क विदेशीलाई सुुम्पिएको आरोप लगाउँदै आएका थिए ।