ट्राफिक नियम कडा रुपमा पालना गराउन निर्देशन

ट्राफिक नियम कडा रुपमा पालना गराउन निर्देशन


महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक नियम कडा रुपमा पालना गराउन प्रहरीलाई निर्देशन दिएका छन् ।

सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवनको आज शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न निर्देशन दिए ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई स्थानीय समुदाय, चालक र सर्वसाधारणको सहयोग आवश्यक पर्नेमा पनि उनले जोड दिए ।

उक्त भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले कूल एक करोड ४१ लाख ८८ हजार ६५० को लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण हुने बताए ।

उनले यातायात सेवा केन्द्र तथा यातायात कार्यालयले भक्तपुरमा सेवा शुरु गर्दा सवारी चालक अनुमति पत्र लिनका लागि राजश्व तिर्न सहज भएको चर्चा गर्दै यो कार्यालय भवन निर्माण पछि सवारी साधनको नामसारीलगायत जनताका लागि आवश्यक सम्पूर्ण सेवा सञ्चालन गर्न सुझाव दिए ।