धनगढीमा देउवाले भने-‘भावी प्रधानमन्त्री मै हुँ, भाेट दिनुस्’

धनगढीमा देउवाले भने-‘भावी प्रधानमन्त्री मै हुँ, भाेट दिनुस्’


प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले चुनाव जिते भावी प्रधानमन्त्री आफै भएको दावी गरेका छन् । प्रेस युनियनले धनगढीमा बिहीबार बिहान गरेको पत्रकार सम्मेलनमा देउवाले कांग्रेसले चुनाव जिते आफू फेरी प्रधानमन्त्री बन्ने बताउँदै भाेट दिन अाग्रह गरे ।

उनले भने, ‘कांग्रेसले जिते फेरी म प्रधानमन्त्री बन्छु । सुदूरपश्चिममा अरु कुनै पनि पार्टीबाट प्रधानमन्त्री बन्नेवाला छैन । प्रधानमन्त्री बन्ने त मै हुँ नि । तपाईले मसँग झगडा गर्न सक्नुहुन्छ, मेरो बिरोध गर्न सक्नुहुन्छ । मलाई भेटेर आफ्ना कुरा राख्न सक्नुहुन्छ । त्यसैले यो क्षेत्रबाट काँग्रेसलाई विजयी गराउन आग्रह गर्छु ।’

सुदूरपश्चिममा ठूला राजमार्गका २२ वटा पुल र ठूल्ठूला सडक आफैले बनाएको दावी गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसबाहेक अरुले यस क्षेत्रको विकास गर्न नसक्ने बताए ।  सुदूरपश्चिममा काँग्रेसले बहुमत भन्दा बढी सिट ल्याउने दावी देउवाले गरेका छन् । वाम गठबन्धनका कारण मुलुकमा डर, त्रास फैलिएको र मान्छे डराएका देउवाको भनाई थियो ।

सरकारले निर्वाचन सुरक्षासंगै उम्मेदवारको सुरक्षामा पनि उत्तीकै ध्यान दिएको देउवाको भनाई थियो । बुधबारदेखि धनगढीमा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका देउवा चुनावी कार्यक्रमका लागि विहिबार गृहजिल्ला डडेल्धुरा गएका छन् ।

प्रधानमन्त्री देउवाले पञ्चेश्वर जलविद्युत आयोजना बन्ने निश्चित भएको उल्लेख गर्दै पश्चिम सेती जलवद्युत आयोजनालाई अगाडि बढाउनका लागि पनि सरकारले निरन्तर पहल गरिरहेको बताए । चुनावका लागि सुरक्षाको राम्रो प्रबन्ध गरिएकाले निर्धक्कसंग मतदान गर्नसमेत उनले मतदातालाई आह्वान गरेका छन् ।