वैद्यको प्रतिवेदनमा अर्कै कुरा

वैद्यको प्रतिवेदनमा अर्कै कुरा


एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यले आफूनिकट पार्टी नेता तथा कार्यकर्ताको तीनदिने राष्ट्रिय भेलामा प्रस्तुत गर्ने कार्यपत्र तयार पारेका छन् । नयाँ पार्टी स्थापना गर्नुको आवश्यकतालाई महत्वका साथ उल्लेख गरिएको कार्यपत्रमा पार्टी स्थापन गर्दादेखि हालसम्म भएका विभिन्न घटना पनि उत्तिकै महत्वका साथ उल्लेख गरिएको छ । वैद्यनिकट एक केन्द्रीय नेताका अनुसार माओवादीले जनआन्दोलन सुरु गर्दा लिएको नीति र अहिले पार्टी नेतृत्व तहबाट भएको निर्णयहरूबारे बुँदागत रूपमा उल्लेख गरिएको छ ।
विगतदेखि वर्तमानसम्म भन्दै पार्टीले विभिन्न चरणमा गरेको निर्णय र त्यसका कमजोरीका कारण पार्टीभित्र समस्या देखिएको भन्दै प्रतिवेदनमा पार्टी संविधासभाको चुनावपछि संसदीय दलदलमा फसेको उल्लेख गरिएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री बाबुरामका कारण संविधानसभा विघटन भएको भन्दै यी दुई नेताहरूकै कारण संविधानसभाबाट जनचाहनाअनुसारको संविधान बन्न नसकी विघटन गरिएको बताएका छन् । उनले प्रतिवेदनमा माओवादी नेतृत्व पूर्णरूपमा भारतपरस्त भएको र उतैको निर्देशनमा चलेको बताएका छन् । भारतका एजेण्डाबिना कुनै पनि बैठक तथा छलफल नहुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा जनआन्दोलनको मर्म र स्पिडलाई गंगा नदीमा लगेर बगाउने काम भएकाले नयाँ शक्तिको खाँचो देखिएकाले तपाईंहरूसँग परामर्श गर्नुपरेको उल्लेख गरेका छन् । त्यसैगरी प्रतिवेदनमा संविधानसभा विघटनका दोषी, पार्टीभित्र देखिएको विचलन, अध्यक्ष प्रचण्ड र बाबुरामको भूमिकाबारे पनि बुँदागत रूपमा उल्लेख गरिएको छ । स्रोतका अनुसार प्रतिवेदनमा पार्टीको नयाँ कार्य दिशा, अबको लाइन सङ्घर्ष र समीक्षा, शान्ति र संविधानको कार्यदिशालाई पनि उल्लेख गरेको छ ।
स्रोतका अनुसार पार्टीको प्रतिवेदनसँगै वैद्यले नयाँ पार्टीको संरचनाबारे पनि आन्तरिक खाका तयार गरिसकेका छन् । उनले आफू नयाँ पार्टीको संरक्षक बसेर महासचिव रामबहादुर थापालाई अध्यक्ष बनाउने प्रस्ताव तयार गरेका छन् । त्यसैगरी सीपी गजुरेल र देव गुरुङलाई उपाध्यक्ष, नेत्रविक्रम चन्दलाई महासचिव र पम्फा भुसाल र खड्गबहादुर विकलाई सचिव बनाउने तयारी गरेको छ । यदि भेलाले यीबाहेक नयाँ नाम प्रस्ताव गरेन भने यही संरचनामा पार्टी विस्तार गर्नेछ । त्यस्तै विभिन्न जिल्ला र राज्य समितिमा पनि बेग्लै संरचना बनाएका छन् । उक्त संरचनालाई पनि वैद्यले भोलाबाट पारित गराउने तयारीमा लागेका छन् ।
राजधानीमा हुने तीनदिने भेलामा बाह्र सयभन्दा बढीको सहभागिता हुने वैद्य पक्षका नेताहरूको अनुमान छ । नेवाः राज्य समितिको आयोजनामा गर्न लागिएको तीनदिने भेलामा आवास तथा बसोबासको व्यवस्था पनि नेवाः राज्य समितिका हितमान शाक्यले गरेका छन् । -घविचार