(कविता)म कविता लेख्न सक्दिनँ-शशी पौडेल

(कविता)म कविता लेख्न सक्दिनँ-शशी पौडेल


म कविता लेख्न सक्दिनँ
कविता लेख्न कल्पनाको सागरमा पौडी खेल्न सक्नु पर्छ ।
कविता लेख्न वास्तबिकताको धरातलमा उभिन सक्नु पर्छ ।
अहिले म यी दुबै गर्न सक्दिनँ।
त्यसैले म कविता लेख्न सक्दिनँ।
मालामाल हुने रहरमा घरबार वन्धकी राखेर युरोप नसके अरबतिरको यात्राको कविता लेखुँ कि ?
अथवा,
बिछोडको पीडामा प्रियसीले बलिनधारा आँशु बगाएको कविता लेखुँ म ?
जन्मदिने आमा बाबुलाइ असरल्ल छोडेर हिँडेको पीडा लेखुँ म ?
अथवा,
एक कल फोन पनि गर्न नसकेको दर्द लेखुँ म ?
व,
हजारौं कोश टाढा हुँदा पनि नेपालीबाटै ठगिएको पीडा लेखुँ म ?

यदि चाहानु हुन्छ भने
रुसको कुनै कुनाबाट अँध्यारो ट्रकको पछाडि चढेर शुरु गरेको यात्राको कविता लेखुँ म ?
यदि होइन भने मातृभूमिको दर्दको कविता लेखुँ म ?
होइन मैले कबिता लेख्नै सक्दिनँ।

किन र कसलाई पढाउन कविता लेखुँ म ?
मैले त बेलायतमा पाल्पाली, पर्बते, पाखरेली भेटेँ
चितवने, गुल्मेली र स्याङ्जाली भेटेँ
पश्चिमेली, पूर्वेली, उत्तरेली र दक्षिणेली भेटेँ
दर्शन समाज क्षेत्री र बाहुन भेटेँ
मगर, गुरुङ, राई, लिम्बू, नेवार र मधिसे भेटेँ
आफूलाई पुराना, रैथाने, लण्डने भन्नेहरु भेटेँ
जसले नेपाली बोल्न, पढ्न र लेख्न इन्कार गर्छन् ।
तर नेपाली भेटिनँ
त्यसैले
किन र कसलाई पढाउन कविता लेखुँ म ?
किन र कसलाई सुनाउन कविता लेखुँ म ?
त्यसैले म कविता लेख्न सक्दिनँ।