बम-आक्रमणबाट जोगिएका डा. महतमाथि माओवादीले गऱ्यो अर्को ज्यादति

बम-आक्रमणबाट जोगिएका डा. महतमाथि माओवादीले गऱ्यो अर्को ज्यादति


सांघातिक बम हमलाबाट मुस्किलले जोगिनुभएका नेपाली कांग्रेसका नेता डा. रामशरण महतको चुनावी घरदैलो अभियानलाई माओवादीको सशस्त्र जत्थाले अवरोध पुऱ्याएका छन् । प्रतिनिधिसभाको लागि नुवाकोट–१ बाट प्रत्यक्षतर्फका उम्मेदवार डा. महतको पक्षमा चुनावी लहर उर्लिएपछि अत्तालिएको बाम–गठबन्धनको उक्साहटमा हितबहादुर तामाङ नामक माओवादी अगुवाको नेतृत्वमा बाटो छेकेर अवरोध पुऱ्याइएको बुझिएको छ ।

आज दिउँसो भएको बम हमलाको विरोधमा नुवाकोट कांग्रेसले रानीपौवामा आयोजना गरेको विरोधसभा सम्पन्न गरी निर्वाचन अभियानमा खटिएको डा. महतको टोली ओखरपौवातिर जाँदै थियो । तर हातहतियारसहित बीचमा बाटो ढुकेर बसेका तामाङसहितका माओवादी समूहले महत टोलीको बाटो छेकेर आक्रमणको प्रयास गरिरहेको बताइन्छ ।

यसरी मार्ग अवरुद्ध गरिएपछि डा. महतले स्थानीय प्रहरी प्रशासनलाई खबर गर्दा पनि प्रहरी मूकदर्शक बनेर बसेको निर्वाचन अभियानमा संलग्न एक कार्यकर्ताले बताए । डा. महत जस्ता काङ्ग्रेसका शीर्ष तहका नेतामाथि आक्रमणको प्रयास गरिँदा र उहाँ स्वयम्ले प्रहरी गुहार्दा पनि सुनुवाई नहुनु आश्चर्य र रहश्यको सन्दर्भ बनेको छ ।

शुक्रबार साँझ अबेरसम्म पनि माओवादीको हतियारबन्द जत्थाले डा. महत–समूहमाथि अवरोध जारी राखेको छ भने प्रहरी प्रशासनले सो गम्भीर परिस्थितिमाथि उपेक्षा दर्शाइरहेको बताइएको छ ।