लन टेनिसमा मायाङ्काको दोहोरो सफलता

लन टेनिसमा मायाङ्काको दोहोरो सफलता


नेपाल प्रहरी क्लबकी मायाङ्का राणाले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताअन्तर्गत राउन्ड रोविन लिगको महिला सिङ्गल्समा दोहोरो जित हात पारेकी छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले पश्चिमाञ्चलकी गंगा शर्मालाई ६–१ र ६–४ तथा एपीएफकी एनी माथेमालाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरेकि हुन ।

मायांकाकी जुम्ल्याहा बहिनी प्रहरीकै माहिकाले पनि दोहोरो जित आत्मासात गर्ने क्रममा नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–१ र ७–६(२) तथा एपीएफकी विजिशा श्रेष्ठलाई ६–२ र ६–२ को सेटमा पराजित गरेकि थिइन् ।

महिला सिंगल्समै एनीले एपीएफकी भगवती विकलाई ६–१ र ६–१ तथा पश्चिमाञ्चलकी गंगाले आर्मीकी अभिलाषा विष्टमाथि ६–३ र ६–३ ले जित हासिल गरिन् ।

त्यस्तै पुरुष सिंगल्सको राउन्ड रोविन लिगमा आर्मीका प्रणव खनाल र पश्चिमाञ्चलका अभिषेक बाँस्तोलाले दुई–दुई खेल जिते । प्रणवले प्रहरीका कमलबहादुर भण्डारीलाई ६–२ र ६–१ तथा प्रहरीका दावा शेर्पालाई ६–४ र ६–२ को सोझो सेटमा पाखा लगाएका थिए ।

अन्य खेलमा पश्चिमाञ्चलका प्रदीपले प्रहरीका दावालाई ६–४, ४–६ र ६–२ तथा आर्मीका संरक्षकले एपीएफका सन्तोषलाई ६–१ र ७–६(५) ले पन्छाएका थिए ।